साफ महिला च्याम्पियनशिपः नेपाल र बंगलादेशबीचको फाइनल खेल जारी
साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले अहिले बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरू भएको हो ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो ।
त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।
फाइनल खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरूको ओइरो लागेको छ। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत पनि रंगशाला पुगेका छन्।
बुधबार बिहानैदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन ठाउँबाट टिकट वितरण गरेको थियो।
महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको हो।
त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।
साफ वुमेन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न पाएको छैन ।