नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ च्याम्पियनसिपको उपाधि

साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ। बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ।

अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो।

दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो ।

त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको थियो । बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।