सयपत्री फूलको आयातमा प्रतिबन्ध
भारतमा सयपत्री फूलमा विभिन्न रोगको सङ्क्रमण देखिएका कारण सरकारले सयपत्री आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
सयपत्री फूल वा सयपत्रीका माला भित्राएमा त्यसबाट भारतमा देखिएका झण्डै डेढ दर्जन किरा र रोग पनि भित्रिएर नेपालको सयपत्री फूललाई असर गर्ने भएकोले प्रतिबन्ध लगाएको प्लान्ट क्वारेन्टीन तथा व्यवस्थापन केन्द्रको क्वारेन्टिन नियमन शाखाका इन्चार्ज प्रकाश पौडेलले बताए ।
कतै अबैध रुपमा भित्रिरहेको भए पनि सुरक्षा निकायलाई जानकारी गराएर जमिनमुनी गाडी नष्ट गर्नुपर्ने उनको भनाइ छ । यसवर्ष असोजको दोस्रो हप्ताको वर्षा र वर्षाजन्य विपद्ले क्षति पुर्याउँदा तिहारमा सयपत्रीको अभाव हुने पुष्प व्यवसायीहरुको भनाइ छ ।
उनीहरुले सयपत्री फूलको झन्डै १५ प्रतिशतले अभाव हुनसक्ने भन्दै आयात खुल्ला गर्न अनुरोध गरेका थिए । तर जैविक सुरक्षाका कारण अनुमति दिन नसकिएको केन्द्रले जनाएको छ ।
नेपालमा तिहारको समयमा ४० लाखवटा भन्दा बढी सयपत्री फूलको मालाको व्यापार हुने अनुमान छ । जसमध्ये ३० देखि ३५ लाखजति माला नेपालकै उत्पादनबाट पूर्ति गर्न सकिने पुष्प व्यवसायीहरु बताउँछन् ।
ललितपुरको गोदावरीमा रहेको पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले गएको वर्ष सयपत्रीको झण्डै ९५ प्रतिशत माग आन्तरिक उत्पादनले धानेको भन्दै यो वर्ष केही अभाव भएमा त्यसको सट्टा गोदावरी र मखमली फुलको प्रयोग गर्नुपर्ने बताए ।
नेपालमा देशका धेरैजसो ठाउँमा सयपत्री फूलको उत्पादन हुन्छ । ५२ जिल्लामा व्यवसायिक खेती विस्तार भइसकेको छ भने धेरैजसो घरमा सयपत्री रोप्ने गरिएको छ । फ्लोरिकल्चर एसोसिएशनले तिहारको समयमा झण्डै ३७ करोड रुपैयाँको फूलको करोबार हुने अनुमान् गरेको छ ।