आज एकै दिन गाईदेखि बलिपूजासम्मका ६ वटा पर्व
काठमाडौं/ कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ। शनिबार ३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ।
सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भए पनि पञ्चाङ्ग निर्णायक विकास समितिले शनिबार एकै दिन गाईगोरुको पूजा गर्न निर्देश गरेको छ।
लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरिन्छ। गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।
यस्तै गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ। नेपालजस्तो पहाडी भूभाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ। कृषिकर्म गर्ने कृषक वा पशुपालकको समेत पूजा गरिने भएकाले यो दिनलाई हलीतिहार पनि भनिन्छ।
गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ। औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारबारे जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ। औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ। यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको शुक्रबारको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उनको भनाइ छ। यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरंगी टीका लगाएपछि सकिन्छ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ। तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनको भनाइ छ। यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ।
कात्तिक १७ गते आज शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी ६ वटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)र भित्तेपात्रोमा उल्लेख गरिनुका साथै समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ।