रंगशालामा मुलुकको कार्यकारी विरुद्धको नाराबाजी:सहकारी ठगहरुको कुण्ठित प्रपञ्च

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो । काठमाडौँको त्रिपुरेश्वरमा रहेको यो एउटा बहुउद्देश्यीय नेपालको सबैभन्दा ठूलो रङ्गशाला हो । यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गर्ने गरिन्छ । रङ्गशालामा ५ सय सिट छन् । यसले १ हजार ५ सय दर्शक थाम्न सक्छ । यसको निर्माण वि.सं २०१४ मा भएको थियो । यहाँ भएका सबै खाले खेल र गतिविधिहरुको राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय समेत प्रशारण हुने गर्दछ ।

धेरै जसो नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस रङ्गशालामा आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष यस मैदानमा सहिद स्मारक ए डिभिजन लिग प्रतियोगीताको पनि आयोजना गर्ने गरिन्छ । रातीको समयमा पनि प्रतियोगीता र कार्यक्रम आयोजना गर्न यो सक्षम होस् भनी यसमा फ्लडलाईट जडान गरीएको छ । काठमाडौँ आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । त्यो प्रतियोगीता आयोजना हुनु पूर्व चीनको सहयोगमा यो रङ्गशाला पुनर्निर्माण गरिएको थियो । नेपालको वीर सहिद दशरथ चन्दको नामबाट यसको नामकरण गरिएको थियो । नेपालमा २०७८ मा पहिलो पटक सम्पन्न, नेपाल सुपर लिग पनि यसै रङ्गशालामा आयोजना गरिएको थियो । सन् २०२४ को साफ महिला च्याम्पियनसिप पनि यही रङ्गशालामा सम्पन्न भएको थियो ।

यसै सन्दर्भमा दशरथ रंगशालामा दक्षिण एशियाली (साफ) महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको बुधबारको फाइनल खेलमा नेपालले पुनः एकपटक इतिहास रच्ने मौका पाएको थियो । साफ महिला च्याम्पियनशिपको फाइनलमा पाँच पटक सम्म पुगे पनि नेपाल उपाधिविहीन रहँदै आएको थियो । यसपटक पुनः नेपालले छिमेकी मुलुक बंगलादेशसँग फाइनल उपाधिका लागि मैदानमा भिड्ने अवसर पाएको हो । सन् २०२२ को साफ च्याम्पियनशिपमा नेपालले पहिलो पटक बंगलादेशसँग सेमिफाइनलमा सामना गर्नुपरेको थियो । तर नतिजा बंगलादेशको पक्षमा रहँदा नेपालले उपाधि भित्र्याउन सकेको थिएन ।

दशरथ रंगशालामा आइतबारको भारतसँगको तनावपूर्ण सेमिफाइनलमा नतिजा आफ्नो पक्षमा पार्दै नेपालले पाँच पटकको साफ च्याम्पियन भारतलाई निराश बनाउन सफल रह्यो । यस पटक नेपाली महिला फुटबल टोलीले फाइनलसम्मको यात्रा तय गर्दा नेपाली टोलीमा विश्वमै नाम चलेका महिला खेलाडी सहितको बलियो टिम रहेको थियो । महिला फुटबल टोलीको यस पटकको खेल टिम स्पिरिटमा आधारित समेत देखिएको थियो ।

आखिर खेल न हो, त्यसमा जीत र हार त निश्चय नै थियो । एउटाले जित्दा अर्कोले हार्ने कुरालाई आखिर खेलको नियमनै मान्ने गरिन्छ । अन्ततः नेपालले जित हात लगाउन सकेन । त्यसै क्रममा दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गर्नेहरू देखा परे । सहकारी ठगीका आरोपितहरुलाई जोगाउन र उनिहरु माथी भैरहेको अनुसन्धानलाई प्रभावित पार्न उद्दत राष्ट्रिय स्वतन्त्र पार्टीबाट खटाइएका केहि संगठित व्यक्तिहरुको कुण्ठा त्यहाँ प्रकट भएको देख्न सकिन्थ्यो । सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानले उक्त कुरा जनाएको छ ।

नाराबाजी गर्नेहरू प्रायः सबैको पहिचान भएको र उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएका बुझिएको छ । त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको बताइएको छ । नाराबाजी हुनसक्ने सूचना बिहानैदेखि पाएर प्रहरीले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन समेत गरेको थियो । रास्वपा कार्यकर्ताले आन्तरिक मेसेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको समेत प्रहरीले भेटेको बताइएको छ ।

नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन् । अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने आदेश प्रहरीलाई थियो ।
विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमी नागरिकका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन शाह जिन्दाबाद भन्ने तयारी पहिले नै गरेको जानकारी थियो । यसमा संगठितरुपमा नभए पनि माओवादी कार्यकर्ता पनि केही संख्यामा संलग्न थिए । राजावादी र बालेन समर्थक हिजोको नाराबाजीमा त्यति पहिचान भएन । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने अधिकांश पहिचान भएका छन् । उनीहरूलाई नोटिसमा मात्र राखिएको छ ।

रास्वपा समर्थकहरूले रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको विषयलाई सुरक्षा निकायले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेका थिए । विगतमा जस्तै बालेन शाह जिन्दाबाद, केपी ओली मुर्दावादको नारा लगाउँदा नाराबाजीको दोष बालेन समर्थकमाथि जाने योजना अनुरूप नै केही व्यक्तिले असभ्य नारा लगाएको प्रहरीले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान थालिएपछि ओलीविरुद्ध सो पार्टीका नेता कार्यकर्ता आक्रामकरुपमा प्रस्तुत भइरहेका छन् । ओलीले भने आफूले छानविन समिति नबनाउने भन्दै रवि स्वयं र अहिले रविको पक्षमा उभिएको माओवादीले समेत समिति बनाउने निर्णय गरेको भन्दै सोही समितिको प्रतिवेदनका आधारमा रवि पक्राउ पर्दा आफूलाई आरोप लगाइएकोमा आपत्ति जनाएका छन् ।

यसरी हेर्दा आजकाल नेपालमा वास्तविकताभन्दा अनर्गल प्रचारबाजी र पपुलिजम्मा विश्वास गर्नेहरुको संख्यामा विस्तरै अभिवृद्धि गराउन थालिएको छ । खेलजस्तो कुरामा जित हारको सन्दर्भमालाई उत्श्रृखल बनाउँदै मुलुकको कार्यकारीमाथी नाराबाजी र संगठित अपराधको थालनी गर्न थालिएको छ । त्यो हेर्दा सामान्यजस्तो लागेपनि तीनिहरुको बेलैमा पहिचान गरी नियन्त्रण नगर्ने हो भने देश पूर्णरुपमा उत्श्रृखल, पपुलिष्ट ठगहरुको चंगोलमा पर्न सक्छ । त्यसैले यसको उतिच निगरानी र नियन्त्रणको आवश्यक छ ।