काभ्रेको रोशीमा आफ्नै भान्साघरमा महिला मृत भेटिइन्

काभ्रेको रोशीमा एक महिला मृत फेला परेकी छन्। रोशी गाउँपालिका-३ भञ्ज्याङ निवासी साइँलाकाजी तामाङकी पत्नी ६६ वर्षीया माइली लामा शुक्रबार साँझ आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी हुन्।

तामाङ मृत फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी सहायक निरीक्षक निलकुमार स्याङतानको कमाण्डमा गएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।

 घटनास्थलमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा गएको प्रहरी टोली पनि गएर अनुसन्धान गरिरहेको काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

मृत महिलाको टाउकोमा चोट लागेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।