झण्डै १ घण्टाको सिस्नुपानी र प्रधानमन्त्री ओलीको जिम्मेवार ५ मिनेट

सिस्‍नुपानी नेपाल नेपाली साहित्य, कला संरक्षण र प्रवद्र्धन गर्न खोलिएको नाम अनुसारकै व्यङ्ग्यको झड्का प्रहार गर्ने संस्था हो । सिस्‍नुपानी नेपालका अभियानकर्ताहरु तिहारमा नेपाली राजनीतिको घटनाक्रमलाई व्यंग्यात्मक तथा सन्देशमूलक रूपमा देउसी भैलोमा प्रस्तुत गर्दै आएकाछन् । देउसी भैलोमा व्यंग्यात्मक तथा सन्देशमूलक विषयवस्तु राख्नु सिस्‍नुपानी नेपालको विशेषता हो । यस बाहेक संस्थाले गाइजात्रा, कुशेऔशी लगायतका पर्वमा समेत आफ्नो कार्यक्रमहरुमार्फत दर्शक स्रोता सामु व्ङ्ग्य प्रस्तुत गर्दै आएको छ ।

स्थापना टंक आचार्य, थरेन्द्र बराल, लक्ष्मण गाम्नागे, माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, धीरेन्द्र प्रेमर्षि, अर्जुन पराजुली, चट्याङ मास्टर, देवी घिमिरे सहितका ९ जनाले २०५५ वैशाख १९ मा सिस्नुपानी नेपालको स्थापना गरेका थिए । वि. सं. २०५५ सालमा बासुदेव लुइँटेलको आँगनबाट सिस्‍नुपानी नेपालको देउसी कार्यक्रम सुरु भएको इतिहास छ ।

हास्यव्यङ्ग्य लेखिरहेका र यसमा काम गरिरहेका साथीहरूबीच गफगाफ हुँदैजाँदा अलिकति नयाँ काम गरौँ, हास्यव्यङ्ग्यलाई स्तर प्रदान गरौँ, अझै सशक्त र प्रभावकारी रूपमा अघि बढाऔँ भन्ने सल्लाह मुताविक त्यस क्षेत्रमा काम गर्ने ९ जना युवा मिलेर सिस्नुपानी नेपालको स्थापना भएको देखिन्छ ।

सिस्नुपानी नेपालले हरेक वर्षजस्तै यस वर्षको तिहारमा पनि देउसी भैलोको आयोजना गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरु लगायतलाई बोलाएर सिस्नुपानीले देउसी भैलोको आयोजना गरेको थियो । प्रज्ञा भवनमा आयोजित देउसी भैलोमा प्रधानमन्त्री ओली र काठमाडौंका मेयर बालेन्द्र शाहविचको कुरालाई सामान्य जोड्न खोजिएको देखिन्थ्यो । जसलाई दर्शकले चाख मानेर सुनेका थिए ।

सिस्नुपानीको देउसीमा सत्ता साझेदार दल नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षितगर्दै सबैभन्दा बाठी नेतृको रुपमा व्यगं गरिएको थियो । त्यस्तै नेता धनराज गुरुङले सहकारीको ऋण पचाउन नक्कली डिभोर्स गरेको भन्दै व्यंग्य गरिएको थियो ।

ललितपुरको मितेरी सहकारी ठगीको आरोप धनराज पत्नी ज्योतिमाथि लागेको छ । सहकारी ठगीको आरोप लागेपछि धनराजले नक्कली डिभोर्स गरेको चर्चा चल्दै आएको छ । जसलाई सिस्नुपानीले व्यंग्य गर्दै भनेको छ–‘साधु नेता धनराजले, कस्तो कला जानेका, ऋणको रकम पचाउन डिभोर्स हानेका’ ।

यसको साथै सिस्नुपानी देउसी २०८१ अन्तर्गत–विपीले भन्थे–समाज्वाद, देउवाजी भन्छन् –समात् बाँध, मदनको बहुदलीय–जनवाद, ओलीको एकल–मनवाद, माओले भन्थे–साम्मेवाद, प्रचण्ड भन्छन्–हाम्मेवाद, सटरका माधव–घुम्तीमा, पार्टी त छ नि–कम्तिमा, राप्रपा भन्छ–राजा ल्याउँ, यागुता गर्छन्–टर्र ट्याउँ, रास्वपा भन्छ–नयाँ छु, फेर्ने हो सरकार–म याँ छु जस्ता थुप्रै प्रहारहरु भएका थिए ।

कार्यक्रममा ३५ वर्ष ३६ सरकार, मन्त्री बने हजारौँ, विकास भएन भन्नेलाई भुइँमा बजारौँ । थुम्कैपिच्छे भ्यूटावर छन्, टोलैपिच्छे शहीदगेट । भ्रष्टार्चा भो भन्ने मुखमा, टाँसिदिनू टेप । संविधानको संशोधन्, साँच्चै हो कि नारा हो । छिमेकीको चारा हो कि, आफ्नै पारा हो । गठबन्धनका गाँठाले, हाम्रा टाउका फुटाउँछन् । दिल्ली बेजिङ आफ्ना आफ्नै धार्नी जुटाउँछन् । बफर जोेन बनाउन, अमेरिका आइरहने । इयु पनि बेलाबेलै मुख बाइरहने । कालेकाले मिली बन्द, गरे अरे फायल । फायल् खोलाखोलले फायल् आफैँ घायल । खान पिउन राउन्ड्टेबल, मातेपछि राउन्ड् किक् । एक्लै खाए भ्रष्टाचार बाँडी खाए ठीक् जस्ता व्यङ्गयहरु कडा रुपमा प्रहार भएका थिए ।

त्यसै गरी गीतको रुपमा भैंसी लड्यो है माया पानीजाज उडेर, मेची काली है माया चुच्चे रेल गुडेर । दुई पल्टका राष्ट्रपति।, पार्टीतिरै फिर्ने रे नि लै लै ! अध्यक्ष नै खाने रे, बरु जिल्ला जाने रे, कि त वडाध्यक्षै हुने रे । महिला प्रधानमन्त्री भन्दै ओली चारो छर्दैछन् नि लै लै ! आरजु गुनगुन गर्दैछन्, मोदी कान भर्दैछन्, विश्व गगन सुँकसुँक गर्दैछन् भन्दै गीति व्यङ्गय प्रहार भएको थियो ।

कांग्रेस पार्टी भित्र पार्टी, पार्टी भित्र पार्टी छन्, सबै पार्टीभन्दा माथि भाउजू बाठी छन् । नेता फेर्छु भन्दै काँग्रेस, धेरै वर्ष कुर्लियो । युवा हुं म भन्नेको नै दाँत फुक्लियो । विपि किसुन गणेशमानले, इतिहास रचेका, बिँडो थाम्न आलम जोशी खाँड बचेका । देउवाजीका स्लिपिङ् पार्टनर, प्रचण्ड र ओली, प्रधानमन्त्री दिउँला भन्छन् उधारोमा भोलि । तानातानमा देउवाजीलाई, ज्वरो आउँछ हनहनी दुईथान कम्निस्ट नेताले घुमाए फनफनी । साधु नेता धनराजले, कस्तो कला जानेका, ऋणको रकम पचाउन डिभोर्स हानेका । माओवादी अध्यक्षले, विश्राम लिनै पाएनन् , किनभने प्रचण्डले दिनै चाहेनन् । बालुवाटारमा बसुन्जेल, दलालीको घेरामा, वाममोर्चाको जोक् सुनाउँछन् फर्की डेरामा । कांग्रेस एमालेको टेको, लाउँदै अघि बढेका, दुइटै टेको उछिट्टिँदा भुइँमा लडेका । लडे पनि लडेँ भन्न, लजाउँछन् प्रचण्ड, आन्दोलनको प्राचिन् गाना गाउँछन् अखण्ड । सत्ता छँदा सिंगापुर, सत्ता छाड्दा बंगलादेश, छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस । राजा फाल्ने उर्जा थियो, थियो तिम्रो कत्रो जोश, अब बन्ने वाम मोर्चामा राप्रपा नि होस् जस्ता कुराहरुले बेस्सरी तालि बाप्को थियो ।

जान्ने भन्दै छानिएकी, हाम्री उपसभामुख नि लै लै ! दूताबासलाई लेखिछन्, झण्डै मान्छे बेचिछन्, तिर्मिर तिर्मिर तारा देखिछन्, हप्तैपिच्छे हुँदा रैछन्, एनआरएनका अधिवेशन नि लै लै ! गुटैगुटमा भर्ती, देशलाई दिन्छन् अर्ती, ऐना हेर्ने हो कि फर्की ।
मकै पोल्ने, फलफूल बेच्ने, सब्जी ल्याउने घरघरमा, भुइँमान्छेलाई भुईँ नै छैन महानगरमा । पसिनाको गन्ध आउने, धोती कछाड दौराले, नगरभित्र नछिर्नु खाउला लौराले । हुकुम्बासी नदी पस्दा नदी शहर पसेको, सुकुम्बासी राजनीतिमा पोल्टिक्स घुसेको । बुढा नेता थर्कमान, हर्क – बालेन देखेर ।त्यो क्रेजलाई नसिध्याऊ है फेसबुक लेखेरजस्ता धेरै कुराहरु प्रस्फुटित भएका थिए ।
दुइटा फूल देउरालीमानाक पस्तुतीबाट वामदेव भन्ने थिए कतै बाबुराम नि थिए कतै । वैद्य, रावल, आरके, सीपी, बादल छाउँथे जताततै । सम्झे सम्झे जस्तो लाग्छ, बिर्से बिर्से जस्तो लाग्छ, जय मधेशको नारा लाउने पार्टी थिए जस्तो लाग्छ भन्नेमा त भिमरावलले खित्कानै छोड्न भ्याएका थिए ।

रवी लामिछानेको सन्दर्भमा १२ भाइलाई १३ औँ भाइले, उफ्री उफ्री थर्कायो । सरकारले थर्काउनेकै ढाड मर्कायो । नपाउनेले केरा पायो, बोव्रैmसँग अड्कायो, नो नट अगेन भनी भनी मन्त्री पड्कायो । उसले खायो त्यसले खायो, हाम्ले खान नहुने, नयाँकाचाहिँ मुख छैन र खानै नहुने । भोको भन्छ वारी खाऊँ, खाको भन्छ पारी जाऊँ, खानै पाको थिएन, सत्ते मरिजाऊँ । मत्स्य न्याय राजनीतिमा सबले तर मारेका, ठुलाले चैँ साना माछा क्वाप्पै पारेकाजस्ता प्रस्तुतीहरु भएका थिए ।
गीतमा म त खाँदिन टिभीको जागिर, मलाई लैजाउन गृहको कुर्सीमा । हेन्सम केटो हेन्सम नारा राजनीतिमा आउँदा, पाइलैपिच्छे कान्डैकान्ड अहिले थाहा पाउँदा । भो भो भाँच्दिन नाकको डाँडी हो, बचत खाँदिन जिबीले नबाँडीजस्ता तुक्काहरु जोडिएका थिए ।

माओवादीका युवराज, क्रान्ति भेप बाल्दैछन्, सहिदका स्वप्नलाई सुनले टाल्दैछन् । नेपालको सेयर बजार गिरोहले चलाउने, अर्थमन्त्री लौको जत्रो नाक फुलाउने । छाडा साँढे पसेर, सहकारी निलेका, अनुगमन गर्ने पनि त्यतै मिलेका । अड्डाभित्र करोडौँका, गाडी सडाइ सिध्याउँछन्, वर्षैपिच्छे गाडी किन्न दाह्रा उध्याउँछन् । झाडीबाट फुत्त आयो, चोर हो कि भनेको, लाइसेन्स माग्यो भन्यो गाडी किन कुदाको, धराप थापी भिडमा, छिर्के लाउँछन् गाडीलाई, जरिवाना तिराई दसैँ मान्छन् ट्राफिक दाइ । गाडी डुब्छन् पिलेन खस्छन्, अनिश्चित भो गन्तव्य, राहत हैन सरकार बाँड्छ शोक मन्तव्य । प्रदेश सरकार के गर्दैछन्, कहाँ पुगे कुदेर, कोशीले चैँ शिखर चुम्यो कार्की जुधेर । प्रदेशमन्त्री मनाङ्गेले विश्व रेकर्ड राखेछन् नि लै लै ! मन्त्री खान अल्छीले राजिनामा दिएछन्, मन्त्रालय नै बेच्न राखेछन् । हाम्रो देशका इन्जिनिएर, संसारलाई पढाउँछन् नि लै लै ! सुपरग्लुले टाँसेर, हवाइजहाज उडाउँछन्, हँसाएरै आन्द्रा चुडाउँछ जस्ता तुक्काहरु वोडिउका थिए ।
कार्यक्रममा चल्ने भयो दमक टावर, भो भो पिर नगर, परेवा पालौँ नाम राखौँ पिजन टावर । प्रधानमन्त्री आफैँ खेल्छन्, मेयरसँग दोहोरी, दोहोरीले सिंहदरबार भयो फोहोरी । चाँडो ल्याउँ समृद्धि, ख्याट्ट पारौँ ब।।।टन्, धरराको गरौँ दोस्रो तेस्रो उद्घाटन् । भेलबाडीमा डुब्दै बग्दै, जनता गुहार माग्दैथे, प्रधान्मन्त्री अम्रिकामा माइक तान्दैथे ।

कार्यक्रममा कविताको रुपमा दशैं याम एक दिन ठुलो पानी पर्यो, खोलानाला शहर पसी गर्नुसम्म गर्यो । स्यानु स्यानु छाप्रो थियो मनोहरा पारी, एमालेका भाले बस्थे गुँड सारी सारी, क्वार्र कुर्र समृद्धिका उखान् सुनाउँथे । गफ्का पोका फ्याँकी फ्याँकी दिन बिताउँथे । चुट्नसम्म चुट्यो आज पार्यो उठिबास, झोलितुम्बी बोकी हिँडे खोज्नलाई बास । हेर तिनको दुःख देख्दा मीनको मन छोयो, दस रोपनी दान पाउँदा झोलितुम्बी रोयो । एमालेको गुँड अब भाटभटेनी सर्ला मनमोहनको ठाउँमा मीनको फोटो पुज्नु पर्ला जस्ता प्रस्तुतीहरु भएका थिए ।

गीत, कविता, आशिष र बिसौनी सहित चलेकोे सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ५ मिनेटको समय सीमा लगायतको सन्दर्भमा झरिलो सिस्नाुपानी प्रहार गर्न भ्याए । व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेकामो सामान्य असन्तुष्टि समेत पोख्न भ्याएका थिए । बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सिस्नुपानी नेपालले देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीको ५ मिनेटको सम्वोधनमा सिस्नु्पानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य नगरेको व्यक्त गरेका थिए । त्यतिमात्र थिएन, सबै दलको कार्यालय बनाउन व्यवसायीहरुले दान दिएको स्मरण गराउँदै अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ भन्न भ्याएका थिए ।

यसरी हेर्दा के.पी शर्मा ओलीको ५ मिनेट सिस्नुपानी टिमले प्रहार गरेको व्यङ्ग्यभन्दा कुनै कम थिएन । कतिपय कुरा बुझेर गरे गरे जस्तो, धेरै कुरा सामाजिक सञ्जालको पछिलागेर कान नछाम्ने, काग लखेट्ने प्रकृतिको सन्दर्भ, संस्थाको नाम नै सिस्नुपानी र आज खेलेकोमात्र देउसी भैलो जस्ता सन्दर्भहरुमा कडै व्यङ्ग्य प्रभार भएका थिए । जिम्मेवार र वौद्धिक ठाउँबाट समेत सचेतनाभन्दा निराशाहरुको पाटो वढी समेटिएको कुरापनि प्रस्तुत गर्न भ्याएका थिए ।
भन्न मजाले पाइने लोकतान्त्रिक व्यवस्थामा पनि मर्यादा र शिस्टताको कुरामाचाहिं ध्यान दिनु पर्ने बताएका उनले बोर्डमा भएको समृद्ध नेपाल, सुखी नेपालीको कुराप्रति प्रष्ट धारणा जोडेका थिए । सम्वोधनकै क्रममा देश बनाउने कुरा एक छिनको लोकप्रीयतावादी क्षणिक सन्दर्भ नभएको समेत बताएका थिए । त्यसको लागि सदियौंदेखि अगाडी वढिरहेको र लामो झमेला सहितको इतिहास व्यहोरेको कुरा समेत बताउन भ्याएका थिए ।

यसरी हेर्दा प्रधानमन्त्रीको ५ मिनेटको समय सीमा सिस्नोपानीको व्यङ्ग्यात्मक देउसी भोलैभन्दा निकै जिम्मेवार देखिन्थ्यो । निश्चित समय सीमामा उनले व्यक्त गरेको कुरामा डरलाग्दो ढंगले अगाडी बढिरहेको क्षणिक लोकप्रीयतावादको गहिरो विश्लेष्ण देख्न सकिन्थ्यो । असन्तुष्टि र निराशाप्रतिको उनको भावना मनन्योग्य थियो । सबै लागेर देश बनाउन सकिने कुरामा देखिएको उनको आत्मा विश्वास सिस्नुपानीको देउसी भैलो मार्फत श्यालुट गर्न योग्य देखिन्छ ।