बाढीपहिरोले थलिएको काभ्रेमा सामान्य वर्षाले नै सङ्कट
असोज १०–१२ को अविरल वर्षाले घरबार गुमाएका काभ्रेका बाढीपहिरो प्रभावितलाई सोमबार दिउसो परेको सामान्य वर्षाले नै सङकट निम्त्याएको छ । खोलाको छेउ र धाँजा फाटेको जमिनमा बसिरहेका पीडितहरु पानी पर्न थालेसँगै भागाभाग भएको थियो ।
वर्षाका कारण विपी राजमार्ग, पनौती–ढुङखर्क सडक लगायतका सडक केहि समय अवरुद्ध भएको थियो भने जिल्लाको विकट क्षेत्र महाभारत जोड्ने रोशी खोलामा राखिएको ह्युम पाइप बाढीले बगाएको छ ।
रोसी खोलामा आएको बाढीले असोज दोस्रो साताको वर्षाका कारण नमोबुद्ध नगरपालिका–६ र रोसी गाउँपालिका–७ जोड्ने रोसी खोलामा गरिएको डाइभर्सन र ह्युमपाइपमा क्षति गरेपछि जिल्लाको महाभारत गाउँपालिकाबाट तिहार मानेर फर्किएका सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
यस्तै क्षणभरमै उर्लिएको बेथानचोक गाउँपालिका–४ स्थित सालान्दु खोलाका कारण स्थानीय त्रसित भएका छन् । सामान्य वर्षामा पनि खोलामा ठुलो बाढी आएपछि स्थानीयको भागाभाग भएको थियो । यस्तै बेथानचोकको पार्थली लगायतको क्षेत्रमा असोजको बाढीपहिरोपछि पुनर्निर्माण गरिएको सडकमा गाडी नचढ्दा चाडवाडमा यात्रुले सास्ती खेप्नु परेको थियो ।
यता, रोशी गाउँपालिका–११ माम्तीमा राजमार्गको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । वर्षाका कारण बिपी राजमार्गको केही स्थानमा रहेका साना खोल्सीहरुमा आएको लेदोका कारण सवारी आवागमनमा असर परेको छ । धुलिखेल नगरपालिका –११ हनुमान मावि नजिकैको खोल्सामा आएको लेदो र पानीका कारण राजमार्गमा सवारी आवागमनमा समस्या भएको थियो ।
असोज १०–१२ मा परेको अविरल वर्षात र त्यसले निम्त्याएको विपदको एक महिना पुरा भएको छ । जिल्लाका विभिन्न पालिकाका वडाहरुमा सडक, संचार र विद्युत सेवा अझै संचालन हुन सकेको छैन । नागरिकहरुको जीवन कस्टकर बनिरहेको छ ।
जिल्लाका १३ स्थानीय तह मध्ये ११ वटा पालिका संकटग्रस्त घोषणा भएका छन् । बाढी र पहिरोबाट ७८ जनाको निधन भएको छ भने ६ जना अझै बेपत्ता छन् । क्षतिको एकिन विवरण अझै आइसकेका छैन । बाढीपहिरोका कारण घर भत्किएपछि त्रिपालमुनी बसोबास गरिरहेका जिल्लावासी सामान्य वर्षाले पनि प्रभावित बनेका छन् ।