अमेरिकी राष्ट्रपतिको मतदान सुरुः ह्यारिस र ट्रम्पबीच प्रतिस्पर्धा

विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचन आज मङ्गलवार हुँदैछ । अमेरिकी समय अनुसार मङ्गलवार बिहान ६ः३० बजेदेखि साँझ ७ः३० सम्म मतदान गर्ने समय तोकिएको छ ।

यद्यपि सोमवार साँझसम्म करिब आठ करोड मतदाताले स्वयं उपस्थित भएर वा हुलाकमार्फत अग्रिम मतदान गरिसकेको समाचारपत्रहरुले जनाएका छन् । निर्वाचनअघि नै यति धेरै प्रतिशत मतदान भएको यो दोस्रो पटक हो । निर्वाचनमा कसले बाजी मार्ने हो र ह्वाइट हाउसको यात्रा तय गर्ने हो भन्ने बारेमा विश्वभर चर्चा र परिचर्चा चलिरहेको छ । यति मात्र होइन, अमेरिकाको राष्ट्रपतिको निर्वाचनले विश्व राजनीति र अर्थतन्त्रमा निकै ठूलो असर पार्ने भएकाले पनि विश्वभरका मानिस अमेरिकाको यो चुनावलाई गहिरिएर हेरेका छन् ।

अमेरिकामा करिब २४ करोड मतदाता छन् । दुवै पक्षका मतदाताहरु ज्यादा उत्साहित भएकाले यो पटक हालसम्मकै सर्वाधिक मतदान हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको लागि डेमोक्रेटिक पार्टीका तर्फबाट एसियन अमेरिकन मूलकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस (६० वर्ष) र रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्प (७८ वर्ष) चुनावी मैदानमा उत्रिएका छन् ।

ह्यारिस उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन् । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन् । त्यसको आधारमा विभिन्न ठाउँमा थोरै मतान्तरले जीतको छिनोफानो हुन सक्ने देखाएको छ ।

अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचकमण्डलमा आधारित छ । अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा कुल ५ सय ३८ इलेक्टोरल तय गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा २ सय ७० मत आवश्यक पर्छ । ५० राज्यमध्ये धेरैजसो राज्यले परम्परागत रूपमा राष्ट्रपतीय चुनावमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन् । सात वटा राज्यमा दुई जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ ।

यस्तै आज हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै ४ सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् ।

अमेरिकामा सामान्यतयाः विजेता को भयो भन्ने कुरा प्रायःचुनाव सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताहरूले थाहा पाउने गरेका छन् । केही विशेष परिस्थितिमा मात्र चुनावको परिणाम आउन निकै समय लाग्ने गरेको खबरमा उल्लेख छ ।

नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ , जनवरी २० तारिखमा अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा शपथग्रहण गर्ने तालिका छ ।