अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याएका छन् । यद्यपि ट्रम्प विजयी भएको औपचारिक घोषणा हुन बाँकी नै छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याएकी छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।
यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी भएका थिए। त्यसबेला उनी हिलारी क्लिन्टनलाई हराउँदै पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेका थिए । ट्रम्प सन् २०२० मा भने जो बाइडेनसँग पराजित भए।
यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जितेका छन् ।
डेमोक्र्याट दलका किल्ला भनिएका राज्य र मतदाताले जुनसुकै बेला मत परिवर्तन गर्न सक्ने भनिएका राज्यमा ट्रम्पको बलियो उपस्थिति देखिएको छ ।