नागढुंगास्थित सिस्ने खोलामा आंशिक रुपमा यातायात बन्द हुने
धादिङ/ त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक रुपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आगामी कार्तिक २९ गते बिहीबारदेखि मंसिर ५ गते बुधबारसम्म यातायात आंशिक रुपमा बन्द रहने जानकारी दिएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सिस्ने खोला क्षेत्रमा स्लोप कटिङको काम गर्ने भएकोले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडकको दुईतर्फी २० मिनेट बन्द र २० मिनेट खुला राखेर यातायात व्यवस्थापन गरिनेछ।
यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेक अन्य सवारीसाधनको आवागमनमा आंशिक रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।