कांग्रेस उपसभापति गुरुङसँग प्रहरीले लियो बयान
प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।
लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालय बोलाएर गुरुङसँग घटनाबारे सोधपुछ गरेर कागज गराइएको सीआईबीका एक अधिकृतले बताए । उनीसँग सहकारी ठगीबारे अनुसन्धान गरिरहेको टोलीले बुधबार दिउँसो १२ देखि ५ बजेसम्म सोधपुछ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भन्दै आलोचना हुँदै आएको थियो । गुरुङविरुद्धको किटानी जाहेरी समेत प्रहरीले लिन नमानेको आरोप थियो । यो घटनामा गुरुङ पत्नी ज्योतीविरुद्ध अन्तरर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।
उनी संस्थामा महाप्रबन्धक रहेका बेला बचतकर्ताबाट संकलित १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना भएको आरोप छ । अहिले त्यो रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख रुपैयाँ प्रहरीको भनाइ छ ।