मल्पी–लिलावती सिँचाई पुनर्निर्माणः ६५ प्रतिशत काम सकियो, १६ सय जना जनश्रमदानमा सहभागी

विकास तिमल्सिना

बाढीपहिरोले क्षतविक्षत मल्पी–लिलावती सिँचाई आयोजनाको ६५ प्रतिशत पुनर्निर्माण सकिएको छ । जनश्रमदानबाट थालिएको पुनर्निर्माण अभियान आज १७ औं दिनमा आइपुग्दा करिव ६५ प्रतिशत काम सकिएको जनश्रमदानमा सक्रिय पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालले जानकारी दिए ।

अभियान अन्तर्गत १६ सय जनाले श्रमदान गरेका छन् । श्रमदानमा स्थानीय कृषक, सक्रिय महिला कृषि सहकारी पनौती, विभिन्न युवा क्लव, महिला समुह, आमा समुह, विद्यार्थी, शिक्षक लगायतको सहभागीता रहेको छ । अहिले दुई सिफ्टमा काम भइरहेको छ । श्रम अभियानमा स्वतस्फुर्त उत्साहपुर्वक रुपमा सहभागीता भइरहेको अध्यक्ष दाहालले बताएका छन् । अब सिँचाई पनौतीको फाँटमा ल्याउन सकिने आत्मविश्वासमा सबै पुगेको उनले बताए ।

सफाई अभियानमा खाजा लगायत निर्माणका लागि आवश्यक औजार, सामाग्री सहयोग प्राप्त भएको अध्यक्ष दाहालले बताएका छन् ।

एकताबाट कठिन काम पनि सहज रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण समेत श्रम अभियानले दिएको सक्रिय महिला कृषि सहकारी पनौतीकी अध्यक्ष सुमित्रा आचार्य बञ्जाराले बताइन् । बाँकी ३० प्रतिशत काम पनि उत्साहपुर्ण रुपमा सबैको सहभागीतामा सम्पन्न हुने उनको विश्वास छ ।

खानेपानी, बाटो, लगायतका काम पनि एकता कायम राख्दै श्रमदान गर्दा कठिन ठानिएका काम पनि सहजै सम्पन्न हुने विश्वास बनेको समेत उनले बताइन् । यो सन्देशमुलक अभियानको रुपमा रहेको उनको भनाई छ ।

सिँचाई पुनर्निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ रकम सफाई गर्न समेत अपुग रहेको श्रमदानमा सहभागी बताउँछन् । प्रदेश सरकारबाट प्राप्त रकम संरचना निर्माणमा खर्च गर्ने र सफाईको काम श्रमदानमार्फत गर्ने योजना अनुरुप श्रम अभियान सञ्चालन गरिएको थियो ।

पनौती नगरपालिका वडा नम्बर ८ का वडा सदस्य विश्वनाथ श्रेष्ठ विपद्पछि भोकमरीको अर्को विपद आउन नदिन समयमै कृषकको खेतबारीमा सिँचाई पुर्याउने अभियानमा लागेको बताउँछन् । बजेटको मात्रै भरपर्दा समयमै किसानको खेतमा पानी पुग्ने सम्भावना नदेखेपछि श्रमदान मार्फत काम थालिएको उनको भनाई छ ।

बाढीपहिरोले आयोजनाको अधिकांश भागमा क्षति पुगेको थियो । अध्यक्ष दाहालका अनुसार २० प्रतिशत संरचना नयाँ निर्माण र ८० प्रतिशत क्षेत्रमा कुलोमा थुप्रिएको माटो निकाल्नुपर्ने अवस्था थियो । उक्त आयोजना मार्फत पनौतीको करिब ६ हजार रोपनी जमिनमा सिँचाई सुविधा पुगेको थियो । समयमै कुलो निर्माण सम्पन्न नभए ६ हजार रोपनी जमिन बाँझो रहने भन्दै कृषकहरु जनश्रमदानमा जुटेका छन् । कृषकको खेतमा पानी पुर्याएपछि मात्रै श्रमअभियानले विश्राम लिने सहभागीले प्रतिवद्धता जनाएका छन् ।