दुर्गा प्रसाईंमाथि किर्ते र साइबर अपराधमा अनुसन्धान हुने

फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) मा अनुसन्धान हुने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। सीआईबीले साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको छ।

तत्काल विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अरू कसुरमा पनि जाहेरी रहेकाले थप विषयमा पनि मुद्दा अघि बढ्ने सीआईबी निर्देशक दीपक थापाले बताए।

उनीविरूद्ध किर्ते कसुरमा पनि अनुसन्धान हुने गरी अदालतको अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यद्यपी प्रसाईँको म्याद थप भोलि मात्र गरिने भएको छ । केही कागजात र प्रक्रियाका कारण आज अदालत लैजान समय अपुग हुन सक्ने सीआईबी प्रवक्ता होविन्द्र बोगटीले बताए ।

प्रसाईँले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ। प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।