डलरको भाउ अहिलेसम्मकै उच्च
काठमाण्डौ / अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।
यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर कीर्तिमान कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।