अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैनः प्रधानमन्त्री ओली

सत्तारूढ दल नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सैह्य नहुने बताएका छन् । उनले अपराध गर्नेलाई सरकारले अनुहार नहेर्ने बताए । तथ्य र प्रमाणको आधारमा मात्रै बहस गर्नुपर्नेमा उनको जोड छ ।

अहिले अनेक फल्तु कुरा आइरहेका भन्दै अध्यक्ष ओलीले भने,‘कम्बोडियामा ३२ हजार करोड, स्वीस बैंकमा २१ हजार करोडका कुरा गर्नुको अर्थ छैन । तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्नका लागि त भन्देउन त ।’

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ लागिपरेको बताएका छन् । उनले वर्तमान गठबन्धन आउँदो चुनावसम्म रहने दोहोर्‍याएका छन्। अब २०८३ साल असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनको भनाइ छ । ओलीले दुई दल कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि देशको अवस्था हेरेर सहकार्य भएको दाबी गरे ।

आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमण सफल हुने बताएका छन् । उनले आफू चीन घुम्न जान नलागेकोसमेत बताए । चिनियाँ परियोजना बीआरआईलाई सङ्केत गर्दै उनले अहिले देशको अवस्था कसैसँग ऋण लिने नरहेको पनि बताए ।