उपनिर्वाचन : मुख्य दलबीच प्रतिष्ठाको लडाई
काठमाडाैं/ कांग्रेस, एमाले र माओवादी एकअर्काको गढ भत्काउने र आफ्नो वर्चस्व कायम राख्ने गरी चुनावी प्रचारप्रसारमा सुर्खेत, दोलखा,कालीकोट — मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी एकअर्काको गढ भत्काउने र आफ्नो वर्चस्व कायम राख्ने गरी चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
देशभर स्थानीय तहका ४१ पदमा उपनिर्वाचन हुँदै छ । रुकुम पूर्वको पुथाउत्तरगंगा–२ को वडाध्यक्ष र जिल्ला समन्वय समिति ओखलढुंगा तथा कैलालीमा निर्विरोध निर्वाचितको नतिजा आइसकेको छ । कर्णाली प्रदेशका १/१ नगरपालिका उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ । जसका लागि ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपनिर्वाचनका कारण गाउँबस्तीहरू गुल्जार हुन थालेको दैलेखको महाबु गाउँपालिका—४ का शेरबहादुर बुढाले बताए । ‘अहिले त जता जाऊ चुनावकै रौनक छ,’ उनले भने, ‘कुनै न कुनै पार्टीको चुनावी प्रचार भइरहेको छ, घरदैलोले पनि मुख्य निर्वाचनकै झल्को दिइरहेको छ ।’
महाबु गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाहीलगायत ७ जनाले उम्मेदवारी दिएका छन् । २०७९ माघ २७ मा हृदयाघातका कारण गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको थियो । उनी २ हजार ७ सय मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
गत वर्षको भूकम्पले ठूलो क्षति पुर्याएको जाजरकोटको नलगाड नगरपालिका पनि चुनावमय भएको नलगाड—४ का राजु महरले बताए । ‘जताततै झन्डासहित गाडीको लस्कर, माइकिङ र गावैपिच्छे आमसभा छ,’ उनले भने, ‘सबै दलले जिल्लाभरिका सबै कार्यकर्तालाई यहाँ केन्द्रित गराएकाले पनि उपनिर्वाचनको माहोलले सबै बस्ती गुल्जार छन् ।’ नलगाडमा उपप्रमुखका लागि कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछाने प्रतिस्पर्धामा छन् । कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको गत वर्ष कात्तिक १७ को भूकम्पमा परी निधन भएको थियो । उनी ५ हजार ४ सय मतसहित विजयी भएकी थिइन् ।
त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही र माओवादीबाट देवकी तिमल्सेनालगायत ५ जनाले उम्मेदवारी दिएका छन् । गत भदौ ४ मा सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको थियो । गत स्थानीय तह निर्वाचनमा माओवादीबाट उपाध्यक्ष निर्वाचित उनले ३ हजार २६ मत पाएका थिए ।