पार्टी र नेता होइन सोच र शैलीचाहिं नयाँ खोजौं
आजकाल नेपालमा खास गरी नेतासम्बन्धी सवाललाई लिएर दुई परस्पर विरोधी प्रश्न एकसाथ उठिरहेकोे छ । भनाउँन खोजिंदैछ, ‘देशमा नेता भन्नलायक कोही भएनन् ।’ तर आफूलाई लायकको नेता, प्रधानमन्त्रीका न्यायोचित आकांक्षी दाबी गर्नेहरूको शृंखलामा नयाँ टाउकाहरू जोडिएर त्यो अझ लम्बेतान बनिरहेको छ । नेतृत्वको खडेरी परेको छ भन्ने भाष्य र ‘लायक नेता’ हरूको अनन्त शृंखलाले एकसाथ एकअर्कालाई गिज्याइरहेको विचित्रको अवस्था अहिले उपस्थित छ ।
यस्तो चर्चाको बीच आमनागरिकको ठूलो पंक्तिले असल नेतृत्वको चर्को अभाव महसुस गरिरहेको चाहिँ साँचो हो । नागरिक तहमा व्याप्त यस्तो मनोविज्ञानको दोहन गर्न भनेर ‘वैकल्पिक शक्ति’ अथवा ‘सामाजिक अगुवा’ को आवरणमा नेतृत्वका नयाँ आकांक्षी रंगमञ्चमा उदाइरहेका छन् । टेलिभिजन कार्यक्रममार्फत नेता जन्माउने घोषणाप्रति पनि जनताले आशावादी नजर लगाउनुपरेको विचित्रको अवस्था सिर्जना भएको छ । कुशल नेतृत्वको अभावले गर्दा नेपालको उन्नति हुन नसकेको हो भन्ने चर्चा घनीभूत हुँदै गर्दा हामीले एउटा प्रश्न आफैंसामु तेस्र्याउन नितान्त आवश्यक छ । त्यो हो— अहिले हामीलाई नेता चाहिएको छ कि, विधि संस्थागत गर्ने नीति ! यो प्रश्नको समुचित जवाफ खोजेर मात्र नेता खोज्ने ध्याउन्नमा लाग्नु बुद्धिमानी हुन्छ ।
सायद लोकतन्त्र नछिप्पी गणतन्त्र आएर हो की, आजकाल होटल रेस्टुरेन्ट वा निवासको बन्द कोठाभित्र केही मानिसहरू दिमाग खेलाउँछन् । धुवाँ उडाउँछन् अनि पेग हान्छन् र दिमाग घुमाएर, फर्मुला बनाउँछन् । बिभिन्न फेसबुक पेज र युट्युब च्यानलहरूको प्लानिङ गर्ने गर्छन् ।
समय फड्केर अगाडि पुगिसक्दा पनि नेता खोज्ने आम मनोवृत्ति कायम रहनुले नेपाली समाज स्वस्थ छैन भन्ने देखाएको छ । बेथिति, अविकास, अन्योल, असुरक्षा र निराशामा डुबेको समाजले मात्रै असल नेतृत्वको चाहना राख्ने गर्छ । नेताको अभाव खड्किनु भनेकै सामाजिक रोगको लक्षण हो । त्यसैले रोगको लक्षणप्रति सम्मोहित हुँदै नेताको खोजीमा भौंतारिनुभन्दा रोग निर्मूल गर्ने दिशा पहिल्याउनु उपयुक्त हुन्छ ।
लोकतन्त्र भनेकै व्यक्तिमाथि विधि, नेतामाथि नीति हावी हुने व्यवस्था हो । विधि र नीतिको सर्वोपरितालाई स्विकार्ने संस्कार नै वस्तुतः लोकतान्त्रिक संस्कार हो । लोकतन्त्रमा राज्य र समाजका अवयवहरूले गर्ने उत्कृष्ट काम भनेकै विधि र नीतिको सुदृढीकरण हो । विधि कमजोर हुँदै गयो भने अमुक व्यक्तिको अधीनता स्विकार्ने मनोवृत्ति प्रभावी हुँदै जान्छ । आदर्श नेताको सपना देख्दैगर्दा हामीले लोकतान्त्रिक विधिको चिहानमाथि मात्रै त्यस्तो नेतृत्व अंकुरित हुन सक्छ भन्ने हेक्का राख्न सक्नुपर्छ ।
नेपालकै इतिहासको एउटा प्रसंग बिचारौं । राजाको निधनपछि उसको जेठो छोरोले राजगद्दी सम्हाल्नु राजतन्त्रात्मक व्यवस्थाको प्रचलित विधि थियो । राजा प्रतापसिंह शाहको मृत्यु हुँदा उनका जेठा छोरा रणबहादुर नाबालक थिए । दिवंगत राजाका जेठा छोरालाई राज्या अभिभार ग्रहण गराउने विधि कार्यान्वयन गराउन नाबालक राजाको नाममा नायवी चलाउने आकांक्षीहरू दरबारभित्र बर्खे च्याउसरी फुत्त–फुत्त उम्रिन थाले । नायवीको सवाल निरूपण गर्ने सर्वस्वीकार्य विधि थिएन । विधि कमजोर भएको ठाउँमा व्यक्ति हावी हुनु अवश्यंभावी थियो । त्यस्तै किचलो र छिनाझप्टीका बीच भीमसेन थापा र जंगबहादुर कुँवरको उदय भएको थियो ।
विधि कमजोर भएको अथवा त्यसले जनआकांक्षा सम्बोधन गर्न नसकेको अवस्थामा कुशल नेताको चाहना प्रखर हुन पुग्छ । त्यस्तै ठाउँमा चामत्कारिक नेतृत्वको उदय हुनु संयोग होइन । यस्तै खालको सामाजिक परिवेशले रूसमा लेनिन, जर्मनीमा हिटलर, अमेरिकामा रुजवेल्ट, चीनमा माओ, भारतमा नेहरू र पाकिस्तानमा जिन्नाको उदय गराएको तथ्य स्मरणीय छ ।
लोकतान्त्रिक संस्कारले अमुक व्यत्तिलाई सर्वोपरि अथवा सर्वगुणसम्पन्न मान्दैन । देश र समाजले भोगिरहेका समस्याहरूको ओखती सामूहिक रूपमा खोज्नुपर्छ भन्ने मान्यताको पक्षमा यसले पैरवी गर्छ । यति जान्दाजान्दै पनि हामी चामत्कारिक नेताको पर्खाइमा पुर्पुरोमा हात राख्दै बस्यौं भने भोलि गएर यो लोकतन्त्रको विनाशको कारक पनि यहि नबन्ला भन्न सकिन्न ।
यति मात्र हैन आजकाल पपुलिजम्, अस्थिरता र नेतृत्वमाथीको प्रहारको लागि हरेक घण्टा घण्टा, दिन दिनको हिसाब गरेर कुन पेजबाट के हाल्ने, कुन युट्युब च्यानलमा के बजाउने कसले छायांकन गर्ने कुन टिमले कमेन्ट गर्ने सबै कुराहरु तयार गर्ने प्रवृतिहरुको हावी भैरहेको छ । बोल्नेहरूको लागि पनि पहिलेनै स्क्रिप्ट तयार हुन्छ । अरुले नै स्क्रिप्ट लेखिदिन्छन् । पैसा तिरेर स्क्रिप्ट राइटरलाई के निर्देशन हुन्छ भने के लेख्दा वा बोल्दा बढी भ्युज कमेन्ट र सेयरहरू बढ्छन्, स्क्रिप्ट राइटरले त्यस्ता कुरामा मात्र बढी फोकस गर्छ । अनि लेख्न थाल्छ, देश खत्तम भयो । काम नलाग्ने भयो । यो देशमा बस्नु ठीक छैन । यो देशमा बसेर केही हुनेवाला छैन । नेताहरू सबै चोर भए । कोहीपनि काम लाग्ने छैन । त्यसो भन्दै पैसा तिरेर स्क्रिप्ट लेख्न लगाउने मात्रै यो देशको ठिक मान्छे हो । यस्ता कुराहरु स्थापित गर्ने र एउटा पंतिलाई त्यसको पछाडि दौडाइरहने कुरा दिन दुई गुना र रात चौगुना हावी भैरहेको छ ।
यस्ता योजनामा संलग्न अधिकांश व्यक्तिहरूको दिमागमा घुमाइफिराई पैसा कसरी कमाउने भन्ने कुरा नै बढी हावी भइरहेको हुन्छ । तर त्यही टिम आज आफ्नो मस्तिष्कलाई नेताहरू उत्पादन गर्ने काममा केन्द्रित गर्न खोज्दैछन् । त्यही उद्योग सञ्चालन गर्नका निम्ति सामाजिक सञ्जाल नै प्रमुख माध्यम भएको निष्कर्षमा पुगेका छन् ।
त्यस्ता व्यक्तिहरू कतिपय आफ्नै मस्तिष्कबाट सञ्चालित छन् भने कतिपय अलिकति सामाजिक सञ्जालमा प्रभाव परिसकेपछि अन्य मिसनहरूसँग जोडिएका छन् । ती उद्योगहरूबाट केवल घृणा, विद्वेष र नकारात्मकता फैलाउँदै यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्दैछन् । केवल आफ्नो पोस्टको रिच तथा इन्गेजमेन्ट बढाउनका लागि र आफ्नो उद्योगको उत्पादनको रुपमा केही व्यक्तिहरुलाई राजनीतिक आवरणमा मैदानमा उतार्दैछन् ।
बुझेकै छैनन् त नभनौं, कतिपय ती व्यक्तिहरूले सामाजिक सञ्जाल बुझेका होलान् । फेसबुक लगायतका सञ्जालहरुको अल्गोरिदम बुझेका छन् । प्रविधिका कुराहरु बुझेका छन् । विडम्बना नेता र दल उत्पादन गर्न खोलिएका ति कारखानाका संचालकहरुले समाज, संस्कृति, राजनीति, कुटनीति केही बुझेका छैनन् । थोरबहूत सम्भावना बुझेका होलान् तर हाम्रो भूराजनीतिक अवस्थिति, जटिलता यसका प्रभावहरू, विकास निर्माणका बाटोमा हामीले भोग्नुपर्ने अनेकन चुनौतीहरू र कठिनाइ बुझेका छैनन् ।
अरुको सत्तोसराप गर्ने, गाली गलौज र बेइज्जती गर्ने बाहेक कुनै मुख्य मुद्दा यिनीहरूको देखिँदैन । युवा र नयाँ भनिदाहरूको मुख्य मुद्दा भनेको त युवाहरूमा व्याप्त निराशालाई चिर्दै आशा जगाउनु हो । न कि त्यो निराशालाई ब्ल्याकमेल गर्दै राजनीतिक रोटी सेक्ने र आफ्ना फेसबुक लगायत पेजहरूको रिच बढाउने !
बाल्यकालदेखिनै मिल्ने मेरो एकजना साथी छ । त्यो साथी बेलाबेला मलाई भेट्न आइरहन्थ्यो । सधैँ नेताहरू भ्रष्ट भए यो पनि भएन, त्यो पनि भएन यी सबै चोर निस्किए बाहेक अरु केही बोल्न उस्ले जानेको छैन, उसले हरेक भेटमा मलाई सुनाउने कुरा यही हो । तर जब उसलाई अन्य कतैबाट विभिन्न आर्थिक प्रलोभन देखाइन्थ्यो, ऊ दौडेर फेरि मेरोमा आउँथ्यो । र मसँग अनेक किसिमका प्रस्तावहरु राख्ने गथ्र्यो ।
फलानो कर्मचारीलाई यो ठाउँबाट त्यो ठाउँमा सरुवा गर्दिनुपर्यो । यति लाख कमिसन आउँछ । फलानो व्यक्तिलाई यो ठेक्का मिलाइदिनु पर्यो, यति करोड कमिसन आउँछ तपाईंलाई आदि मलाई आदि । फलानो व्यक्ति विदेश जाँदैछ इमिग्रेसनमा समस्या होला जस्तो छ तपाईँले कुरा मिलाइदिनु पर्यो, यति पैसा आउँछ । दाजुभाईलाई आधाआधि पार्ने आदिआदी अनेकन !
सुरुसुरुमा त मैले उसलाई ठुलै स्वरमा सम्झाउँथें । पूरोनो, बाल्यकालदेखिको साथी हो, भेट्दिन भन्नपनि नमिल्ने ! पछिपछि चाहिँ उसले जे भने पनि मैले नसुनेजस्तो गरी बसेपछि उसको आउने दर पनि क्रमशः कम हुँदै गयो । । आज त्यो साथी र उसका त्यस्ता साथीहरू त्यही फेसबुकको अल्गोरिदमले जन्माएका नयाँ भनिने नेता तथा दलको समाचारहरू सेयर गर्दै उनीहरूको पछि लागेको देखिन्छ र पुरानाहरु सबै चोर भए युवा नेतालाई सपोर्ट गरौं भन्दैछ । इमान्दारिताको जगमा निष्ठापूर्वक युवा पुस्ताको प्रतिनिधित्व गरी अघि बढिरहेको आफ्नै साथीलाई देखाउन र जलाउँन ।
त्यसैले यस्तो खालको अनरगल कुरामा नलागौं । नेपालको आफ्नै खालका राजनीतिक इताहास छ । नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, बहुदलीय व्यवस्था र संघीय लोकतानित्रक गणतन्त्र ल्याउन ठूलो कुरवानी गरेकाछन् । होला, नेतृत्वले आपूmलाई थोरबहूत परिवर्तनचाहिं गर्नुपर्ला, यसम विश्वास गरौं । क्षणिक र औद्योगक पपुलिष्टहरुको पछि नलागौं । देश, जनता र ब्यवस्थाको सुदृढ गरौं ।