पर्यटन र जिल्लाका सम्भावनाहरु

नेपालमा आर्थिक स्रोतका हिसाबले पर्यटन उद्योग दोस्रो महत्वपूर्ण उद्योगको रुपमा रहेको छ । गत बर्ष (२०२३) को मात्रै तथ्यांक हेर्ने हो भने पर्यटनले ३५८ दशमलव ९ अर्ब बराबरको राजश्व संकलन गर्दै राज्यको कूल आन्तरिक आम्दानीको ६.७ प्रतिशत हिस्सा ओगटेको छ । बिदेशी मुद्रा आर्जनको प्रमुख श्रोतको रुपमा रहेको पर्यटन क्षेत्रले कूल रोजगारको ३.२ प्रतिशत हिस्सा अर्थात १२ लाख हाराहारी रोजगारी सिर्जना गरेको देखिन्छ । दक्षिण एशियामा पर्यटक आगमनको हिसाबले नेपाल पाँचांै स्थानमा रहेको छ भने पर्यटनबाट विदेशी मुद्रा आर्जनको हिसाबले तेस्रो स्थानमा आउने कुरा तथ्यांकहरुले पुष्टि गरेका छन् ।

नेपालमा पर्यटन उद्योगको विकासको इतिहास निकै पुरानो भएता पनि पर्यटनलाई छुट्टै महत्वको आर्थिक क्षेत्रको रुपमा आत्मसात् गरी महत्व प्रदान गर्ने कार्य भने पहिलो पटक २०५२ सालमा पर्यटन नीति जारी गरेपछि मात्र आरम्भ हुन सकेको हो । जसमा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आर्थिक क्षेत्रको रुपमा स्वीकार गर्दै स्थानीय अर्थतन्त्रसँग आवद्ध गरिएको छ । पर्यावरणीय पर्यटन, धार्मिक र साँस्कृतिक पर्यटन, साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्वतीय पर्यटन जस्ता कुराहरुलाई सो नीतिले समेटेको छ ।
नेपालमा हाल भइरहेको पर्यटन विकासलाई सरसर्ति हेर्दा पर्यटकहरुले मुख्य तीनवटा उद्देश्यहरुबाट नेपाल आउने तथा बिभिन्न स्थानहरुको यात्रा गर्ने गरेको पाइन्छ । पहिलो रमणीय प्राकृतिक सम्पदा जस्तै हिमाली श्र्रृंखलाहरु, मनमोहक दृश्यहरु, नदीनाला, प्राकृतिक ताल–तलैया, वन्यजन्तु र वनस्पतिहरु जस्ताको भू–दृश्य हेर्न, दोस्रो मानव निर्मित पौराणिक तथा आधुनिक महत्वका स्थलहरु जस्तै बौद्ध बिहार, मठ–मन्दिरहरु, पुराना गुम्बा–गढीहरु र अन्य धार्मिक तीर्थस्थलहरुको अवलोकन गर्न तथा तेस्रो बिभिन्न जनजातिको धर्म, संस्कृति, आहार विहार, रीतिरिवाज र परम्पराका साथै संस्कारहरुको अवलोकन तथा अनुसन्धान कार्य गर्ने उद्देश्यले पनि पर्यटकहरु आउने गरेको पाइन्छ ।

काभ्रेपलाञ्चोक जिल्ला पनि नेपालका महत्वपूर्ण पर्यटकीय स्थलहरुमध्येको एक हो । राजधानी काठमाडौंबाट पूर्वतर्फ करिव २३ कि.मी.को छोटो दूरीमा जिल्लाको प्रवेशद्वार भेट्न सकिने यस जिल्ला भौगोलिक, सांस्कृतिक, जैविक बिविधतायुक्त, ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदाहरुले भरिपूर्ण, प्रचुर पर्यटकीय सम्भाब्यता बोकेको पहाडी जिल्लाको रुपमा परिचित छ । मध्यपहाडी क्षेत्रमा रहेको, हिमालयको आकर्षक दृष्य र भू–बनावट, लुकेका स साना उपत्यका र पहाडी एवम् हिमाली क्षेत्रको मिश्रीत सौन्दर्य तथा हिमालयबाट निसृत नदिहरुका कारण गर्दा यो जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । साथै सांस्कृतिक बिविधता र ऐतिहासिक एवम् पुरातात्विक स्थलहरु समेत यहाँका आकर्षण हुन् । दृष्यालोकन, पदयात्रा, जलयात्रा, ग्रामीण पर्यटन, साहसी पर्यटन, पर्यावरणीय पर्यटन र धार्मिक पर्यटन समेतको यस जिल्लामा प्रशस्त सम्भावना रहेको छ ।

जिल्लाका पर्यटकीय सम्पदाहरु :
जिल्लाको भौगोलिक अवस्थिती तथा प्राकृतिक सम्पदाहरुको सही उपयोग गर्दै बिभिन्न प्रकारका पर्यटकीय सम्पदाहरुको विकास तथा बिस्तार गर्न सकिने धेरै सम्भावनाहरु रहेका छन् । काठमाण्डौबाट नजिक र तिब्बतको प्रवेशद्वार कोदारी जोड्ने अरनिको राजमार्ग तथा बीपी राजमार्ग यसै जिल्लाको सदरमुकाम भएर जानुले पनि यसका सम्भावनालाई अझ बढाएको छ । तिब्बत जाने तथा फर्कने पर्यटकहरु तथा सगरमाथा, हेलम्बु, पाँचपोखरी, कैलाश जाने यात्रुहरुका लागि धुलिखेल एक रात्री बिश्रामस्थलको रुपमा प्रयोग हुने गरेको छ । धुलिखेल, नगरकोट, पनौती, पलाञ्चोक, नमोबुद्धजस्ता ठाउँहरु पर्यटकीय क्षेत्रका रुपमा पहिल्यै प्रख्यात छन् तथा यी स्थानहरुमा धेरै हदसम्म पर्यटकीय पूर्वाधारहरुको विकास भैसकेको छ भने क्रमिक रुपमा विकसित हुँदैछन् ।

भौगोलिक तथा प्राकृतिक सम्पदा

नमोबुद्ध क्षेत्र।

मध्यपहाडी क्षेत्रमा अवस्थित यस जिल्लामा सुविधासम्पन्न शहरी क्षेत्रदेखि अति दुर्गम ग्रामीण क्षेत्रहरु समेत रहेका छन् । यहाँका प्रत्येक थुम्काहरुबाट देख्न सकिने हिमालयको लामो स्रृंखलाले जो कोहीलाई पनि आकर्षण गर्दछ । सुन्दर भू–बनावट, लुकेका स साना उपत्यका र पहाडी एवम् हिमाली क्षेत्रको मिस्रित सौन्दर्य तथा हिमालयबाट निसृत नदिहरुका कारण गर्दा यो जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्र सतहदेखि २०० मिटर उचाइमा अवस्थित कोखाजोर खोलादेखि ३०१८ मिटर उचाईको बेथानचोक नारायणस्थानको बीचमा पाँचखाल, महादेवस्थान, भकुण्डेका समथर फाँट, महाभारत पर्वतीय स्रृंखला, चौवास, घ्याङडाँडा जस्ता गगनचुम्बी पहाडहरु, सांस्कृतिक धार्मिक महत्व बोकेका पलाञ्चोक भगवतीदेखि बिश्व सम्पदा सूचीमा सूचिकृत हुन लामबद्ध भएका पनौती, नमोबुद्ध जस्ता ऐतिहासिक स्थलहरुलाई पनि यस जिल्लाले आफ्नो काखमा अटाएको छ । जनजातिहरुको बाहुल्यता रहेको यस पहाडी जिल्लामा ३४ प्रतिशत तामाङ्ग जातिहरु रहेका छन् भने २३ प्रतिशत ब्राम्हण, १४ प्रतिशत नेवार, १३ प्रतिशत क्षेत्री, ५ प्रतिशत मगर तथा ११ प्रतिशत अन्य जातजातिहरुको बसोवास रहेको छ ।
यहाँको सुन्दर धरातलीय बनौट, हरेक पहाडी थुम्काहरु मध्ये तथा पूर्वी हिमाली स्रृंखलाको दृश्यावलोकनका लागि प्रसिद्ध छन् । जिल्लाको २८ दशमलव २ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको छ । जहाँ बिभिन्न किसिमका जैविक बिविधताहरु रहेका छन् । १ हजार ५ सय ७३ कि.मि. जलप्रवाह हुने ४ सय ९२ वटा साना ठूला नदिनालाहरु रहेका छन् । जहाँ रोमाञ्चक जलयात्राका साथै छाँगा तथा झरनाहरुको दृश्यावलोकनबाट पनि आनन्द लिन सकिन्छ ।

रोशी गाउँपालिकास्थित तीनधारे झरना

ग्रामीण पर्यटन
हाम्रो देशको अधिकांश भू भाग ग्रामीण क्षेत्रले ओगटेको हुनाले ग्रामीण पर्यटनको महत्व तथा सम्भावना पनि ब्यापक रहेको छ । जिल्लाको कुल जनसंख्याको ८० प्रतिशतको हाराहारीमा ग्रामीण भेगमा बसोवास रहेको छ । ग्रामीण जनजीवन अवलोकन गरी नयाँ नयाँ अनुभव बटुल्न सबै पर्यटक लालायित हुन्छन्। पोखरी नारायणस्थान लगायतका तिमाल क्षेत्र, इन्द्रावती तथा सुनकोशी नदीको दायाँ बायाँका गाउँहरु, बेथानचोक, रोशी तथा महाभारत क्षेत्रका गाउँहरुमा न्यूनतम आवश्यक पूर्वाधारहरु तयार गरी यहाँको ग्रामीण संस्कृति र परम्पराजन्य रहनसहनबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । जिल्लाका पनौती, बल्थली, धुलिखेल, पातलेखेत, शंखु, नमोबुद्ध, रोशी, ढुंखर्क लगायतका स्थानहरुमा पर्यटकहरुको सेवाका लागि संचालनमा रहेका होमस्टेहरुलाई थप ब्यवस्थित बनाउँदै अन्य सम्भावित ग्रामीण बस्तीहरुमा समेत बिस्तार गर्न सकेमा पर्यटनको लाभ गाउँ, बस्तीस्तरमा पुर्याउन सहयोग पुग्नेछ भने आवश्यक न्यूनतम पूर्वाधारहरु तयार गरी ग्रामीण पर्यटनलाई बढावा दिन सकेको खण्डमा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दछ ।

मनोरञ्जनस्थल/पिकनिक स्पोट

धुलिखेल तथा नगरकोट पिकनिकका लागि प्रसिद्ध स्थलहरु हुन् । काठमाण्डौबाट एक घण्टाको बसयात्रामा आइपुग्न सकिने भएकोले प्रत्येक बिदाका दिनमा यहाँ पिकनिक आउने समूहहरुको ठूलै भिडभाड रहेको हुन्छ ।

 

सांस्कृतिक र धार्मिक पर्यटन
पर्यटकहरु चार बर्ण छत्तीस जातले सुसज्जित फूलवारीमा विद्यमान सांस्कृतिक बिविधताको रसस्वादनमा पनि उत्तिकै लालायित हुन्छन् । यस जिल्लाका बिभिन्न जातीय तथा धार्मिक समूहहरु आफ्नो छुट्टै संस्कृति, रहनसहन, रितिरिवाज बोकेर बसेका छन् । जिल्लामा बिभिन्न ५० थरी जातजाति, ६ किसिमका धर्मालम्बीहरु र २० वटा भाषाहरु प्रयोगमा रहेका भेटिन्छन् । हाम्रो समाजमा रहेको बिशिष्ट संस्कृतिलाई केही परिस्कृत गरी पर्यटकसमक्ष प्रस्तुत गर्न सकिएमा आ आफ्नो संस्कृतिको जगेर्ना हुनुका अलावा आम्दानीको स्रोत पनि बन्न सक्दछ ।

यस जिल्लामा १३० भन्दा बढी मन्दिरहरु तथा ४० भन्दा बढी गुम्बाहरु रहेका छन् । प्रशिद्ध पलाञ्चोक भगवती, नमोबुद्ध, धनेश्वर, चण्डेश्वरी, लड्केश्वर जस्ता धार्मिक तिर्थस्थलहरुमा बर्षेनी आन्तरीक तथा बाह्य पर्यटकहरुको आवतजावत हुन्छ । यस्ता सम्पदाहरुको संबद्र्धन तथा संरक्षण गर्दै आवश्यक प्रचार–प्रसार हुनुपर्दछ ।

पर्यावरणीय पर्यटन
सामुदायिक वनको अवधारणा र त्यसले जन्माएका सफल दृष्टान्तहरु यस जिल्लामा प्रशस्त देख्न सकिन्छ । ४९६ वटा सामुदायिक वनले १८१४४ हेक्टर क्षेत्रफल ओगटेको छ । गोसाईकुण्ड, चौवास, नागीडाँडा, शारदा देवीस्थान, नयाँगाउँ ठूलीचौर, महाभारत वन आदिलाई पर्यावरणीय पर्यटन क्षेत्रको रुपमा विकसित गर्न सकिन्छ ।

साहसिक पर्यटन
धुलिखेल र नगरकोटमा जिपलाइनहरु संचालनमा छन् । जिल्लाका कुशादेवी तथा धुलिखेलमा पाराग्लाइडिङको सफल परिक्षणहरु भई केहि समय संचालनमा समेत आएका छन् । भोटेकोशी तथा सुनकोशी नदी ह्वाइट वाटर ¥याफ्टिङ्गका लागि प्रसिद्ध छन्, जहाँ एक दिन देखि ४ दिन सम्मको रोमाञ्चक जलयात्राबाट मज्जा लिन सकिन्छ ।
त्यसैगरी साहसिक पर्यटनकै अर्को आकर्षणको रुपमा मालुवा ओढार, कुईभिर, रानीपहाड जस्ता ठाउँहरुलाई रक क्लाइम्बिंगका लागि विकास गर्न सकिन्छ । छिमेकी जिल्ला सिन्धुपाल्चोकमा रहेको नेपालकै दोस्रो अग्लो बञ्जी जम्पिंगलाई पनि यस जिल्लाले उपयोग गर्न सक्दछ ।

जिल्लामा लामो तथा छोटो दुरीका २ दर्जन भन्दा बढी टे«किंग रुटहरु सम्भावित सूचीमा रहेका छन् । जिल्लामा टेकिंग एजेन्टसहरु नभएका कारण काठमाण्डौबाट बिभिन्न टेकिंग एजेन्ट्सहरुले सो रुटहरुमा पर्यटकहरुलाई टेकिंगमा लाने गरेका छन् । सो मध्ये नगरकोट–धुलिखेल–नमोबुद्ध–नारायणस्थान–कात्तिके देउराली–सैलुंग ९रामेछाप०–चौवास–दोलालघाट, नगरकोट–धुलिखेल–नमोबुद्ध–पनौती–फूलचोकी–गोदावरी, नगरकोट–हिगुवापाटी–हेलम्बु, धुलिखेल–भिमखोरी– घ्यांगडाँडा–ताराखस्यौली लेक–फूल्चोकी आदि रुटहरुको वरपर आवश्यक न्यूनतम पूर्वाधार विकास गर्न सकेमा अन्तर्राष्टिय ट्रेकिंग रुटको रुपमा पहिचान गराउन सकिने प्रशस्त सम्भावना देखिन्छ ।

बैकल्पिक हवाई मैदान
हिउँदको समय पर्यटकहरुको घुम्ने सिजनका रुपमा लिईन्छ । हिमालयन फ्लाइटका लागि काठमाडौं एयरपोर्टमा बिहान १२ बजेसम्म हुस्सु कुहिरोले नछाड्ने हुनाले यसबाट निकै अवरोध पुगिरहेको हुन्छ । त्यसको ठीक उल्टो यस जिल्लाका अधिकांश भूभागमा हिउँदमा हुस्सु कुहिरो लाग्नुको साटो बिहान सवेरै देखि घाम देख्न पाइन्छ । त्यसैले काठमाण्डौबाट एक घण्टाको बसयात्रामै आइपुग्न सकिने यस जिल्लाका महेन्द्रज्योतिको नागीडाँडा तथा धुलिखेलको देवीस्थान वा चिसापानी डाँडामा वैकल्पिक हवाई मैदान बनाउन सकिएमा पर्यटकहरुको हवाई मार्गबाट मनोरम हिमस्रृंखलाको रसास्वादनको इच्छालाई पुरा गर्न सकिन्छ ।

यसका अलावा दोलालघाट, पलाञ्चोक, काशीभञ्ज्यांग, चण्डेश्वरी लगायत पिकनिक स्पोटका लागि सम्भाब्य अन्य स्थानहरु पनि प्रशस्तै रहेका छन् । जिल्लामा सम्भाब्य मनोरञ्जनस्थलहरु पनि पर्याप्त मात्रामा पाउन सकिन्छ । चलचित्र मन्दिर, स्नुकर÷पुल हाउस, जीम हाउस, वाल उद्यान केन्द्र, चिल्ड्रेन रिक्रिएसन पार्क, सार्वजनिक खेलमैदान, सार्वजनिक उद्यान आदि यस जिल्लामा रहेका छन् भने फिसिंग, बर्ड वाचिंग, हन्टिंग, बोटानिकल गार्डेन, स्वीमिंग पुल, कृतिम जलाशय आदिका लागि सम्भाब्य प्रशस्त ठाउँहरु रहेका छन् । भ्यू टावर, केवल कार, चिडियाघर, स्पोर्ट सेन्टर आदिको निर्माणबाट पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।

विकास पर्यटन
धुलिखेल सामुदायिक अस्पताल, शीर मेमोरियल अस्पताल, अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, स्पाइनल इञ्जुरी अस्पताल आदि जिल्लामा भएका ख्यातिप्राप्त स्वास्थ्य संस्थाहरु हुन् । जसमा स्वास्थ्योपचारका लागि देशका बिभिन्न भागका मानिसहरु आउने गरेका छन् । त्यस्तै काठमाण्डौ बिश्वविद्यालय, धुलिखेल मेडिकल इन्स्टिच्युट, बनेपा पोलिटेक्निक स्कूल, एस ओ एस बालग्राम जस्ता ख्यातिप्राप्त शैक्षिक संस्थाहरु लगायत काभ्रे हेल्थ ट्रेनिङ्ग इन्स्टिच्युट, फुल्चोकी नर्सिंग क्याम्पस, मल्पि इन्टरनेशनल स्कूल लगायतका दर्जनौं निजी शैक्षिक संस्थाहरु पनि केहि बर्षदेखि अग्रपंक्तिमा आइरहेका छन् । प्रतिरक्षा बिश्वविद्यालय तथा मदनभण्डारी बहुप्राविधिक बिश्वविद्यालय समेत निर्माणका चरणमा रहेका छन् । यी संस्थाहरुको बिश्वसनीयता अभिबृद्धि गर्दै बर्षेनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवाग्राहीहरुलाई जिल्लामा आकर्षित गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

त्यस्तै यस जिल्ला विकास गतिबिधिका हिसावले पनि नमूना जिल्लाको रुपमा रहँदै आएको छ । धुलिखेलको खानेपानी योजना नेपालकै सबभन्दा राम्रो तथा ब्यवस्थित योजनाको रुपमा परिचित छ । सामाजिक परिचालन, सहकारी अभियान, वालवालिका तथा महिला विकास सम्बन्धी नमूना कार्यहरु जिल्लाका बिभिन्न क्षेत्रमा भैरहेका छन् । यस्ता विकास मोडलहरुको अध्ययन अवलोकन गर्न बर्षेनी आगन्तुकहरुको ओइरो लाग्ने गरेको छ । यी कार्यहरुलाई निरन्तरता दिंदै थप नमूनाका कार्यहरु अगाडि बढाउन सकेमा विकास पर्यटनलाई अझ परिष्कृत गर्न सकिने सम्भावनाहरु रहेका छन् ।

बैठक, तालिम, गोष्ठी, सेमिनार (Mice Tourism)
धुलिखेल तथा नगरकोट बिभिन्न प्रकारका राष्टिय तथा अन्तर्राष्टिय बैठक, तालिम, गोष्ठी तथा सेमिनारका लागि उपयुक्त स्थानका रुपमा परिचित छन् । जिल्लामा ७८ वटा बिभिन्न स्तरका होटल तथा रिसोर्टहरु संचालनमा रहेका छन् । तालिम केन्द्रहरुले पनि सेवा प्रदान गर्दै आइरहेका छन् । भूमी ब्यवस्थापन प्रशिक्षण केन्द्र, शैक्षिक तालिम केन्द्र जस्ता सरकारीका साथै निजी क्षेत्रको प्रयासमा धुलिखेल तालिम केन्द्र, चेतना केन्द्र, रेडक्रस तालिम केन्द्र जस्ता संस्थाहरुले पनि बैठक, तालिम, गोष्ठी, सेमिनारका लागि आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन् । पाँचखालमा नेपाली सेनाको ब्यवस्थित तालिम केन्द्र संचालनमा रहनुका साथै पनौतीमा सशस्त्र प्रहरीको प्रशिक्षण केन्द्र समेत निर्माण सम्पन्न हुने चरणमा रहेको छ । जिल्लामा तालिम, गोष्ठी, सेमिनारका लागि दैनिक रुपमा प्रशस्तै मानिसहरुको आवागमन हुने गरेको छ ।

निश्कर्ष
जिल्लामा पर्यटन विकासका प्रचुर सम्भावनाहरु हुँदा हुँदै पनि यसका समस्या र चुनौतिरु पनि उत्तिकै रहेका छन् । जिल्लामा पर्यटनसँग सम्बन्धित छिटपुट कार्यक्रमहरु निरन्तर रुपमा भैरहेतापनि दीर्घकालीन सोच सहितको निश्चित योजना नहुँदा कार्यक्रमहरुले निरन्तरता पाउन सकेका छैनन् । जिल्लावासीहरुमा पर्यटन सम्बन्धी चेतनाको अभावका कारण पनि बिभिन्न समस्याहरु आउने गरेका छन् । पर्यटन सम्बन्धी निश्चित गुरुयोजना तयार गरी सम्भाब्य क्षेत्रहरुमा खानेपानीको समूचित प्रबन्ध, फोहरमैला ब्यवस्थापन, पार्किंगको ब्यवस्था, जिल्लावासीमा पर्यटन सम्वन्धि चेतना जागरण, पर्यटनसँग सम्बन्धित सूचना, जानकारी, तथ्यांकहरुका लागि ब्यवस्थित सूचना केन्द्र र सेवा केन्द्र ब्यवस्था, बाटो, आवासस्थल, भ्यू टावर जस्ता पूर्वाधारहरुको निर्माण, डकुमेन्ट्री तथा अन्य प्रकाशनहरुको माध्यमबाट संभाब्य क्षेत्रहरुको प्रचार प्रसार, सुलभ एवं पर्याप्त संचार सुविधाको ब्यवस्था, समय समयमा तालिमहरुको आयोजनाबाट स्थानीय तहमा पर्यटक गाइडहरु तयार, जिल्लामा उत्पादित कृषि उपजहरुको बिश्वसनियता सिर्जना गरी स्थानीय तहमा उपयोग गराई परनिर्भरता कम गर्ने जस्ता कुराहरुमा संबन्धित सबै सरोकारवाला निकायहरुको ध्यान गई एकिकृत प्रयास भएमा राजधानीको कोलाहल, फोहोर र प्रदुषणबाट पैदा भएको पर्यटकीय विकर्षणलाई काभ्रेपलाञ्चोकको प्राकृतिक सौन्दर्य, ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा र स्वच्छ वातावरणले आकर्षित गरी देशकै पर्यटन विकासमा यस जिल्लाले उल्लेखनीय योगदान पुर्याउन सक्ने कुरामा ढुक्क हुन सकिन्छ ।