परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं/ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा औपचारिक भ्रमणका क्रममा बिहीबार चीन जाँदै छिन् । प्रधानमन्त्रीको भ्रमणका एजेन्डा तय गर्ने गरी परराष्ट्रमन्त्रीको चीन भ्रमण हुन लागेको हो । तर, परराष्ट्रमन्त्री राणाको भ्रमण राजधानी बेइजिङमा नभएर चीनको पश्चिमी प्रान्त सिचुआनको राजधानी छेन्दुमा हुनेछ ।

शुक्रबार छेन्दुमा चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक वार्ता गरेर उनी शनिबार स्वदेश फर्किनेछिन् । त्यसपछि १७ देखि २० मंसिरमा प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलमा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको भ्रमणतालिका शुक्रबार सार्वजनिक गर्ने नेपाल–चीन दुवै पक्षको तयारी छ ।

परराष्ट्र मन्त्रालयले बुधबार परराष्ट्रमन्त्री राणाको चीन भ्रमण सार्वजनिक गरेको छ । तर, विवरणमा परराष्ट्रमन्त्री कुन सहर जाने भन्ने उल्लेख छैन । ‘परराष्ट्रमन्त्रीले चीनको छेन्दुमा समकक्षीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ,’ कायम–मुकाम परराष्ट्रसचिव अमृतबहादुर राईले भने ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार ‘दुई नेताबिच प्रधानमन्त्रीको आसन्न औपचारिक चीन भ्रमणलगायत दुई देशको पारस्परिक हितका विषयमा बृहत् छलफल हुनेछ । दुई परराष्ट्रमन्त्रीको भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणमा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालको बेग्लै प्रस्तावबारे छलफल हुने उच्च राजनीतिक स्रोतले जनाएको छ ।

नेपालले २९ वैशाख ०७१ मा हस्ताक्षरित बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता कार्यान्वयनमा प्रतिबद्धता जनाउनेछ । यद्यपि, नेपालले अहिले ऋण लिन नसक्ने पनि परराष्ट्रमन्त्रीले स्पष्ट पार्नेछिन् । नेपाललाई चीनले यसअघि दिने प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन तथा नेपाल–चीन सम्बन्धका सबै पक्षबारे छलफल गर्ने परराष्ट्रमन्त्रीको तयारी छ ।

परराष्ट्रमन्त्रीले स्याफ्रुबेँसी–रसुवागढी राजमार्गको स्तरोन्नति, हिल्सा–सिमिकोट सडकको स्तरोन्नतिसम्बन्धी सम्झौता कार्यान्वयन, कोरला नाकामा सुक्खा बन्दरगाह सञ्चालन, तातोपानी नाकामा यात्रुहरूको आवागमन पुनः थाल्ने विषयमा समकक्षीसँग छलफल गर्नेछिन् । यसैगरी, टोखा–छहरे सुरुङमार्ग, पोखरा र काठमाडौंबाट तिब्बतको ल्हासालगायतका सहरमा उडान, नेपाल–चीन ऊर्जासम्बन्धी सहकार्य, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारणलाइन आयोजना, नेपाल–चीन मैत्री औद्योगिक पार्क, सीमा व्यवस्थापन प्रणाली, बाउन्ड्री प्रोटोकल, नेपालका सीमाक्षेत्रमा चिनियाँ सहयोग अभिवृद्धिलगायतका विषयमा पनि दुई परराष्ट्रमन्त्रीबिच छलफल हुनेछ ।

परराष्ट्रमन्त्री राणासँग चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको सम्बन्धबारे पनि छलफल हुनेछ । परराष्ट्रमन्त्री राणाले कांग्रेसका तर्फबाट एक चीन नीतिप्रति प्रतिबद्धता दोहो¥याउनेछिन् । नेपाली कांग्रेसका नेता बिपी कोइराला प्रधानमन्त्री भएका वेला नेपाल– चीनबिच शान्ति तथा मैत्री सन्धि भएको थियो ।