रास्वपा आफूले उम्मेदवारी नदिएका सबै ठाउँमा तटस्थ बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिकाको मेयरको चुनावमा तटस्थ बस्ने भएको छ । मेयरमा उम्मेदवारी नदिएको रास्वपाले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएको थियो ।

रास्वपाका उपचुनाव कमाण्डर गणेश पराजुलीले कुनै एउटा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न व्यवहारिक कठिनाइ आइपरेको बताए । रास्वपाले अब आफूले उम्मेदवारी नदिएका स्थानमा पार्टीका समर्थकलाई स्वविवेकमा निर्णय लिन छोडिदिएको उनको भनाइ छ ।

कीर्तिपुरमा एकजना स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न रास्वपाले निकै कसरत गरेको थियो । पराजुलीका अनुसार सबै स्वतन्त्र उम्मेदवारहरुलाई एक ठाउँमा ल्याएर एकजना मात्रै उठाउने पहल गरिए पनि त्यो सफल भएन ।

रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ । यो उपनिर्वाचनलाई आफूहरुले लोकप्रियता परीक्षणको कसीका रुपमा नलिने पराजुली बताउँछन् ।