तेमाल गाउँपालिकामा असोज १०–१२ को वर्षातले १ सय ५७ घर उच्च जोखिममा

लक्ष्मण तिमल्सिना
तेमाल, काभ्रे
असोज १०–१२ गते परेको अविरल वर्षातका कारण भएको क्षतिको विवरण अझै एकिन हुन सकेको छैन । विशेषगरी स्थानीय तहमा देखिएको र राजनीतिक गतिविधि र नागरिकहरुको अपेक्षाका कारण तथ्य र सत्य तथ्यांक संकलनमा ढिलाई भएको हो । पालिकाहरुले अझै क्षतिको पूर्ण विवरण उपलब्ध गराउन नसकेका हुन् । 
जिल्लाको तेमाल गाउँपालिकाले क्षतिको पूर्ण विवरण जिल्ला विपद ब्यवस्थापन समितिमा बुझाएको छ । तेमालमा ५ पुरुष, ८ महिला गरी १३ जनाको निधन भएको छ । अझै २ वेपत्ता छन् । एक जना घाईते छन् । तेमालका ४ सय ६९ घरमा पूर्ण क्षति भएको छ भने ९ सय ४७ घरहरुमा आंशिक क्षति भएको छ । उच्च जोखिममा रहेका १ सय ५७ घर छन् । ३३ वटा गोठ क्षति भएको छ भने ७ वटा भैसी मरेका छन् । ३ वटा घाईते भए । ३ वटा गोरु मरे । १ सय २० वटा बाख्रा मरे । २ सय २२ वटा कुखुरा मरेका छन् ।
तेमालमा ३ हजार २ सय ९७ रोपनी खेत क्षति भएको छ भने ५ हजार ५ सय ६८ रोपनी बारीमा क्षति पुगेको छ । 
कुन वडामा के के भयो क्षति ? 
तेमाल गाउँपालिकाको वडा नम्वर १ मा २ जनाले ज्यान गुमाए । १ सय २१ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने २ सय ३१ वटा घरमा आंशिक क्षति भएको छ । २१ वटा गोठमा क्षति पुगेको छ । ९९ वटा कुखुरा। १ वटा बाख्रा मरेको छ । ५ सय ८७ रोपनी खेत र १३ सय ११ रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर २ मा ६ जनाले ज्यान गुमाएका छन् । अझै २ बेपत्ता छन् । ६१ वटा घर पूर्ण क्षति भएको छ भने २ सय १६ वटा आंशिक क्षति भएका छन् । ४ वटा गोठमा क्षति पुगेको छ । १ वटा भैसी, ६४ वटा बाख्रा र १ वटा गोरु मरेको छ भने ७५ वटा कुखुरा मरेका छन् । १ सय ८८ रोपनी खेत र १२ सय ३८ रोपनी बारी क्षति भएको छ । 
वडा नम्वर ३ मा २० वटा घरमा क्षति पुगेको छ । १४ वटा घरमा आंशिक क्षति पुगेको छ । ४० वटा घर उच्च जोखिममा छन् । १ सय रोपनी खेत र ३ सय रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर ४ मा २ जना महिलाले ज्यान गुमाएका छन् । ६० वटा घर पूर्ण क्षति र ७० वटा घर आंशिक क्षति भएका छन् । ८ वटा घर उच्च जोखिममा छन् । १ वटा गोठ पूर्ण क्षति छ । १ वटा भैसी, ८ वटा बाख्रा मरेका छन् । ९७ रोपनी खेत र ५ सय ७५ रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर ५ मा ९२ घरमा पूर्ण क्षति पुगेको छ । ७८ घरमा आंशिक क्षति भएको छ भने ५ वटा भैसी मरेका छन् । २ वटा गोरु, ३० वटा बाख्रा र ४० वटा कुखुरा मरेका छन् । ३ सय २१ रोपनी खेत र ७ सय ७१ रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर ६ मा १ जनाको निधन भएको छ । ३७ वटा घरमा पूर्ण क्षति भएको छ भने १ सय ८१ घरमा आंशिक क्षति भएको छ । ७ वटा गोठ पुर्ण रुपमा क्षति भएको छ । ७ वटा बाख्रा मरेका छन् । ५९ रोपनी खेत र ६ सय ७६ रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर ७ मा २ जना महिलाको निधन भएको छ । ४४ वटा घरमा पुर्ण क्षति, ३४ वटा घरमा आंशिक क्षति र ८९ वटा घर उच्च जोखिममा छन् । १० वटा बाख्रा र ८ वटा कुुखुरा मरेका छन् । १ सय ७ रोपनी खेत र १ सय ५६ रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर ८ मा २८ वटा घरमा पुर्ण क्षति, ८६ वटा घरमा आंशिक क्षति र २० वटा घर उच्च जोखिममा छन् । १ हजार ३० रोपनी खेत र ५ सय ३१ रोपनी बारीमा क्षति पुगेको छ । 
वडा नम्वर ९ मा ६ वटा घरमा पुर्ण क्षति भएको छ भने ३७ वटा घरमा आंशिक क्षति भएको छ । ८ सय ८ रोपनी खेत र २० रोपनी बारीमा क्षति पुगेको छ ।