जनतालाई झुटो बोलेको देख्दा गगन थापाप्रति दया लाग्छः अध्यक्ष प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको बताएका छन् ।

खुमलटारमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले कांग्रेस महामन्त्री गगन थापाले केही दिन पहिले गरेको दाबीमा सत्यता नभएको बताएका हुन् । कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा कांग्रेसका महामन्त्री गगन थापाले अध्यक्ष दाहालले हप्ताको दुई/तीन पटक कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको दाबी गरेका थिए ।

थापाको सोही दाबीबारे प्रतिक्रिया दिँदै दाहालले सरकार परिवर्तनको कुरा आफूले अघि नबढाएको बताएका हुन् । उनले २०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताएका थिए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए ।

जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको दाहालको टिप्पणी थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको दाहालको दाबी थियो । उनले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिएका थिए ।

थापाले सरकार परिवर्तनलाई लिएर गरेको दाबी शतप्रतिशत झुटो भएको दाहालको भनाइ थियो ।