जनकपुरको लगातार तेस्रो जित, पोखरा सात विकेटले पराजित

काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकाल्ने क्रममा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको विजय हासिल गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।
जनकपुरको जितमा लहिरु मिलान्थाले ४५ रन बनाए । उनले ३२ बलमा आठ चौका प्रहार गरे । लहिरुलाई १०औँ ओभरको पाँचौँ बलमा माइकल लियस्कले सागर ढकालबाट क्याच गराएका थिए । ओपनर आसिफ सेखले ३४ बलमा तीन चौकासहित ३३ रन बनाए । आसिफलाई १३औँ ओभरको तेस्रो बलमा कुशल भुर्तेलले विपीन खत्रीबाट क्याच गराएका थिए ।
१०–१ को स्थितिबाट लहिरु र आसिफले तेस्रो विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्याएका थिए ।
आक्रामक रुपमा प्रस्तुत भएका जिम्मी निसमले २० बलमा अविजित ४० रन बनाए । उनले पाँच छक्का प्रहार गरे । निसमसँगै अविजित रहेका हर्ष थाकेरले १४ बलमा १३ रन बनाए ।
आजको खेलमा ओपनर तथा कप्तान अनिल साह भने एक रनमै आउट भए । यसअघि कर्णालीविरुद्ध अर्धशतक बनाएका अनिललाई दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीले एलबीडब्लूको धरापमा पारेका थिए ।