करमा ‘करकर’, तिर्न छुटेकालाई छुटैछुट
मोतीराम तिमल्सिना
धुलिखेल
करदाताहरुलाई सहज रुपमा कर तिर्ने वातावरणमा तयार नगरिएको भन्दै सरकारको चौतर्फि आलोचना हुने गरेको छ । नागरिकहरुलाई कर तिर्न जाने समयमा पनि असहज भएको, सहज रुपमा कर तिर्न नपाएको, कर तिर्नु पर्दा सरकारले करकर गर्नु परेको जस्ता गुनासा आउन थालेका छन् । चालु आर्थिक वर्षमा सरकारले असोज, मसिंर र फागुन मसान्तसम्म छुट दिने गरी विशेष छुट तथा सहुलियत दिने ब्यवस्था गरेको छ । विगत वर्षहरुमा कर नतिरी वा करमा समावेश नभई कारोवार गरेका र समावेश भएर पनि कर तिर्न विविध कारणवश छुटेका करदाताहरुलाई छुटको ब्यवस्था गरिएको हो ।
आर्थिक विधेयक २०८१ ले करदाताहरुलाई विशेष छुटको ब्यवस्था गरेको छ । विशेषगरी करको दायरामा आउनेलाई छुट दिने सम्वन्धी ब्यवस्था उल्लेख गरेको छ । जसमा कुनै ब्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्वर नलिएको भए त्यस्तो ब्यक्तिले स्थायी लेखा नम्वर लिई आर्थिक वर्ष २०७८/२०७९ र २०७९/२०८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर सम्वत २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ । उपदफा (१) बमोजिम आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सो भन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन । आय विवरण बुझाउन बाँकी करदाताले स्थायी लेखा नम्वर लिई आय विवरण बुझाउन बाँकी रहेको अवस्थामा आय विवरण, सो आय विवरण अनुसारको आय कर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम सम्वत २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।
मुल्य अभिबृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्वन्धी ब्यवस्था पनि आर्थिक विधेयकले गरेको छ । २०८० साल असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिबृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिबृद्धि कर र सोमा लाग्ने ब्याजको पचास प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ ।
अन्तराष्ट्रिय हवाई सेवा प्रदायक, ढृुवानी सेवाको कारोवार गर्ने, आलु, प्याज तथा स्याउको आन्तरिक उत्पादनमा मूल्य अभिबृद्धि कर छुट गरिएको छ । त्यस्तै कर्जा सूचना प्रदायक निकायलाई पनि मूल्य अभिबृद्धि कर मिनाहा गरिएको छ ।
(यो समाचार चेष्टा साप्ताहिकमा प्रकाशित भएको छ ।)