जलवायु अनुकुलन नीति बनाउँदै बनेपा नगरपालिका
बढ्दो प्राकृतिक विपदका घटना न्यूनिकरणका लागि बनेपा नगरपालिकाले जलवायु अनुकुलन नीति बनाउने भएको छ । बनेपा नगरपालिका र बहु सरोकारवाला मञ्चबीच विहिबार भएको छलफलमा प्राकृतिक रिसोर्सेस सेन्टर तथा महिला जागरण समुहसँगको सहकार्यमा आवश्यक नीति बनाउने समझदारी भएको हो ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, प्रशासकीय अधिकृत ध्रुवराज नेपाल, महिला जागरण समुह अध्यक्ष निर्मला श्रेष्ठ, प्राकृतिक रिसोर्सेस सेन्टरका कार्यकारी निर्देशक प्रविण मान सिं, कार्यक्रम संयोजक भवानी श्रेष्ठ लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले योजनावद्ध र दिगो विकासको प्रकृया नगरपालिकाले सुरु गरेको बताए । यसले जलवायुमैत्री नगर बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
उप–प्रमुख विमला सापकोटा दाहालले बनेपामा जथाभावी हुने प्लटिङ, विकास निर्माणका कार्यको अवरोध, उपयुक्त ज्ञान विनानै कृषिमा प्रयोग गरिने विषादी मुख्य समस्या रहेको बताइन् । उनले सरोकारवालाको सुझावका आधारमा बनेपा नगरपालिकाले जलवायु अनुकुलन योजना बनाउने बताइन् । कुहिने र नकुहिने फोहोर वर्गिकरण गर्ने कार्य समेत सुरु गर्न लागिएको उनले बताइन् ।
कार्यकारी निर्देशक प्रविण मान सिं ले जलवायु परिवर्तनको असर, समस्या समाधानका लागि भइरहेका असल अभ्यास लगायतको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले स्थानीय विकास निर्माणका कामलाई दिगो बनाउन, जलवायुजन्य विपदबाट नागरिकलाई सुरक्षित राख्न, जलवायु कार्यका लागि आएका अर्थ स्थानीय सरोकारवालासम्म पुर्याउन जलवायु सम्बन्धी नीति आवश्यक रहेको बताए । गत वर्षको बजेटमा ३० प्रतिशत रकम जलवायु लक्षित कार्यक्रमका लागि छुट्याइए पनि भ्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताएका छन् ।
कार्यक्रम संयोजक भवानी श्रेष्ठले बनेपाको नालामा सुरु गरिएको प्राकृतिक खेती प्रभावकारी र नमुनाको रुपमा रहेको बताइन् । उनले यस्ता असल अभ्यासलाई विस्तार गदै जलवायुमैत्री कार्यमा ध्यान दिनुपर्ने बताइन् ।
अध्यक्ष निर्मला श्रेष्ठले स्थानीय स्तरमा उपलब्ध स्रोतबाट बनाइएको कम्पोष्ट मलले राम्रो उत्पादन दिन थालेको जानकारी दिइन् । कम्पोष्ट मल प्रभावकारी देखिएपछि रासायनिक मल प्रयोगकताृको संख्या समेत घटेको उनको भनाई छ । गदाए हुने रहेछ भन्ने उदाहरण नालाले दिएको उनको भनाई छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत ध्रुवराज नेपालले कतिपय स्रोत परिचालनका लागि ऐन बाधक रहेको बताए । उनले दक्ष प्राविधिक जनशक्ति नहुँदा पनि जलवायुमैत्री काम गर्न समस्या भएको बताए । बनेपा नगरपालिकाले बजेट नै विनियोजन गरेर जलवायुमैत्री केहि कार्यको भने थालनी गरेको उनले जानकारी दिएका छन् । यद्यपी वन ऐन, कृषिमा अत्याधिक रासायनिक मलको प्रयोग, फोहोरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेको उनले बताए । उनले जलवयाुमैत्री कार्यक्रमका लागि सरोकारवालासँग सहयोगको अपिल पनि गरेका छन् ।
सहभागीहरुले विकास निर्माणका कार्य गर्दा प्रकृतीमैत्री कार्य गर्न, सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताएका थिए ।