माटोमा अम्लियपन बढ्यो, सुधार तथा उपचारमा ध्यान दिन सुझाव
धुलिखेल/माटोको सुधार, परिक्षण रेखदेख उपचार भन्ने नाराका साथ विश्व माटो दिवसका अवसरमा कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सरोकारवालासँग माटोको अवस्था, गुणस्तर र सुधार तथा रेखदेखका लागि अपनाउनु पर्ने विधी र प्रकृयाका बारेमा जानकारी गराएको छ ।
कार्यालय प्रमुख कुलप्रसाद दवाडीले नेपालमा माटोको अवस्था, प्रदेशमा तथा जिल्लामा विभिन्न समयमा गरिएका परिक्षण र त्यसका प्रतिवेदनका बारेमा जानकारी गराउँदै माटोको उपचार तथा रेखदेखका लागि सरोकारवाला सबै निकायको सक्रियता आवश्यक रहेको बताए ।
काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकाका खेतियोग्य जमिनमा अम्लियपनको मात्रा बढि हुँदै गएको र त्यसले उत्पादनमा हस ल्याएको बताउँदै त्यसको सुधारका लागि माटोको महत्व र फाईदाका बारेमा कृषकहरुलाई सचेत गराउनु पर्ने दवाडीले बताए । माटोको महत्व र फाईदा, डिजिटल नक्सा अनुरुप प्राप्त नतिजा, काभ्रेपलाञ्चोक जिल्लाको अवस्था र घुम्ति माटो परिक्षण शिविर लगायत स्थानीय तहमा रहेका कृषि शाखाहरुले कृषकहरुलाई उपलब्ध गराउनु पर्ने सचेतनाका बारेमा छलफल भएको थियो ।
कृषकहरुले पछिल्लो समय तरकारी बाली तथा खाद्य बालीहरुमा देखिन थालेका रोगहरु तथा उत्पादनमा आएको हस कमी गर्न स्थानीय तह, प्रदेश र संघ सरकारले माटोको उपचारमा ध्यान दिन अनुरोध गरेका थिए । नियमित परिक्षण तथा उपचारका लागि सहज अवस्था नभएकाले त्यसको ब्यवस्थापनका लागि कृषकहरुले अनुरोध गरेका थिए । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध तथा महाभारत गाउँपालिकाका कृषि शाखामा कार्यरत कर्मचारीहरुले माटोको शिविर राखेको भए पनि प्रभावकारी हुन नसकेको बताए ।
अधिकांशले माटो सम्वन्धी कार्यक्रम प्राथमिकतामा समेत नपरेको जानकारी गराए । कार्यक्रममा माटो जोगाउन सक्दा मात्रै खाद्य सुरक्षा तथा नागरिकहरुको जीवन सहज हुने बताउँदै आर्गानिक उत्पादन र आर्गानिक मल प्रयोगमा ध्यान दिन सुझाव दिईएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, रेशम खेति विकास केन्द्रका प्रमुख कृष्ण धिताल, बागवानी विकास केन्द्रका प्रमुख विष्णु बोगटी, गैसस महासंघ अध्यक्ष गंगा दोङ्ग, नेपाल पत्रकार महासंघ अध्यक्ष बद्रिराज तिमल्सिना तथा सरोकारवाला निकायका ब्यक्तिहरुले माटोको उपचार र रेखदेखमा ध्यान दिन अनुरोध गरेका थिए । कार्यक्रममा कृषि विकास कार्यालय अधिकृत चेतना पोखरेल लगायतको सहभागिता थियो ।