संघीय निजामती सेवा विधेयक अघि बढ्दै, आइतबारदेखि छलफल हुने

काठमाडौं / संसदमा विचाराधिन रहेको ‘सङ्‌घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अघि बढ्ने भएको छ ।

प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भएर प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयकमाथि आइतबारदेखि छलफल सुरु हुने समितिले जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथीको छलफल सकिएकाले आइतबार दिउँसो १ बजे संघीय निजामती सेवा विधेयकको छलफल सुरु हुन लागेको समितिका सभापति रामहरी खतिवडाले नेपाल प्रेसलाई जानकारी दिए ।

विधेयक ९ महिना अघि २०८० फागुन २१ मा प्रतिनिधि सभामा दर्ता भएको थियो । प्रतिनिधि सभामा सैद्धान्तिक छलफल गरेर दफावार छलफलका लागि ६ महिना अघि गत जेठ १५ मा समितिमा पठाइएको थियो ।

संघीय संसद सचिवालयका अनुसार विधेयकमा एक हजार ५८३ वटा संशोधन परेका छन् ।