चौमासिकमा सरकारी ‘खर्च’ नै मुस्किल
प्रतीकात्मक तस्बिर
धुलिखेल/चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विनियोजन भएको बजेट खर्च हुनै मुस्किल छ । प्रशासनिक तथा चालु खर्च बाहेक पुँजीगत खर्च हुनै सकेको छैन । न्यून खर्चका कारण पछिल्ला दुई चौमासिकमा खर्चको सिमा बढ्नेछ ।
काभ्रेपलाञ्चोक जिल्लाका संघ अन्र्तगतका १३ वटा पालिका सहित ३९ वटा कार्यालयहरुमा बजेट विनियोजन हुने गरेको छ । ९ अर्ब ६६ करोड २७ लाख ६ हजार ५ सय ८८ रुपैया मध्ये चालु तर्फ प्रथम चौमासिकमा २ अर्ब ६९ करोड ७० लाख ४६ हजार ४ सय ११ रुपैया खर्च भएको छ भने कार्तिक महिनामा मात्रै २१ करोड ६६ लाख २१ हजार ४ सय ७६ रुपैया खर्च भयो । पुँजीगत तर्फ २ अर्ब ४५ करोड ६२ लाख ३६ हजार रुपैया मध्ये २७ करोड २२ लाख ३८ हजार ८ सय ७८ रुपैया खर्च भएको छ । कुल खर्च २ अर्ब ९६ करोड ९२ लाख ८५ हजार २ सय ८९ रुपैया खर्च भएको छ । पुँजीगत भन्दा चालु तर्फ विनियोजित बजेट पनि धेरै र खर्च पनि धेरै छ ।
संघ तर्फ जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, तथ्यांक समन्वय कार्यालय, आन्तरिक राजश्व कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, रेशम खेती विकास शाखा लगायत छन् । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कारागार कार्यालय, इलाका प्रहरी कार्यालय, मंगलटार, कातिकेदउराली, बनेपा, जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी विद्यालय साँगा, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, शशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालय महाभारत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, डिजिटल नापी कार्यालय, नापि कार्यालय रहेका छन् । त्यस्तै भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र, सुर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजना कार्यालय, २६ नम्वर बाहिनी अड्डा भकुण्डे, २६ नम्वर फिए गुल्म, विरेन्द्र शान्तीकार्य तालीम केन्द्र पाँचखाल, कालिजंग गण, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति, भद्रदल गण, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा तालिम केन्द्र र स्वास्थ्य कार्यालय छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति साँगामा निर्माण भईरहेको छ । जसका लागि पुँजीगत तर्फ १ अर्ब ५ करोड ३४ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटमा चौमासिकमा १ करोड ७६ लाख २९ हजार रुपैया खर्च भएको छ ।
प्रदेश कोलेनिका कार्यालय मार्फत जिल्लाका १३ स्थानीय तह सहित २२ वटा कार्यालयमा बजेट विनियोजन हुने गरेको छ । जिल्ला समन्वय समिति, प्रदेश लेखा इकाई कार्यालय, मालपोत, नापी, उद्योग तथा बाणिज्य, वागवानी विकास केन्द्र, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, भूमिगत जलश्रोत सिंचाई डिभिजन कार्यालय, डिभिजन वन, पूर्वाधार विकास, शहरी विकास तथा भवन कार्यालय, पनौती प्राविधिक शिक्षालय, नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट, सामाजिक विकास कार्यालय, शिक्षा तालिम केन्द्र, मेथिन्कोट अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा बैकिल्पक चिकित्सालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र यातायात ब्यवस्था कार्यालय रहेका छन् । पालिका बाहेकका कार्यालयहरुमा चालु र पुँजीगत तर्फ गरी कुल ५३ करोड ४६ लाख ६० हजार ७ सय ६१ रुपैया खर्च भएको छ । जस अन्र्तगत पुँजीगत तर्फ १७ करोड ६६ लाख ६० हजार ४ सय ६८ रुपैया खर्च भएको छ भने चालु तर्फ ३५ करोड ८० लाख खर्च भएको छ । चालु तर्फ २ अर्ब ३ करोड १७ लाख १६ हजार र ३ अर्ब ८ करोड ४८ लाख ४५ हजार रुपैया बजेट पुँजीगत तर्फ विनियोजन भएको थियो । जिल्लाका १३ वटा पालिकामा प्रदेश सरकार मार्फत विनियोजन भएको समानिकरण, शशर्त, विशेष, समपुरक गरी ८१ करोड २६ लाख ७ हजार रुपैया मध्ये २० करोड ३१ लाख ५१ हजार ७ सय ५० निकासा भएको छ ।