श्री माई उग्रचण्डी साना किसान कृषि सहकारीको घुम्ति कोष मार्फत सदस्यहरुलाई नगद सहयोग
बनेपा,शेरा/श्री माई उग्रचण्डी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औ बार्षिकोत्सव तथा तेश्रो अधिबेशन जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यता तथा सिता दंगालको अध्यक्षतामा सम्पन्न भएको छ ।
अधिबेशनले सनिता बजगाईको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । समितिमा उपाध्यक्ष सिता सापकोटा, सचिव सम्झना पौड्याल, कोषाध्यक्ष रसिला पराजुली रहेका छन् । समितिमा सदस्यहरु अप्सरा घिमिरे, विमला नेपाल दाहाल, देवकी नेपाल, रञ्जु सापकोटा र जानुका दाहाल रहेका छन् । लेखा समितिमा भगवति बजगाई दाहाल संयोजक तथा सदस्यहरुमा सुमित्रा पराजुली र लक्ष्मी सापकोटा छन् ।
साधारण सभामा अध्यक्ष सिता दंगालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरेका गतिविधिहरुले सदस्यहरुको जीवन स्तरमा सुधार भएको बताईन् । संस्थामा १ सय ७७ वटा समुह, ९ सय ३६ शेयर सदस्य, २ सय ६४ बाल बचत गर्ने सदस्य छन् । शेयर रकम ४० लाख २९ हजार ४ सय रहेको छ । सस्थाले ६ करोड ९६ लाख ८१ हजार ६६ रुपैया बराबरको कारोवार गरेको छ । लघु कर्जा, पशु तथा मासुजन्य कर्जा, उत्पादन ब्यवसायीक कर्जा, तरकारी खेती कर्जा उपलब्ध गराउँदै आएको छ ।
शेयर सदस्यका छोराछोरीहरुलाई इजरायलमा तालिम लिन पठाएको र प्रविधी भित्र्याएको, डकर्मी तालिम उपलब्ध गराएर ४ वटा घर निर्माण गरेको, घुम्ती कोष मार्फत बाख्रा, गोरु र बोका वितरण गरिएको छ । साधारण सभामा २५ जना शेयर सदस्यलाई बाख्रा पालनका लागि घुम्ती कोषबाट ५÷५ हजार उपलब्ध गराईएको छ भने बोका ३ वटाका लागि १०÷१० हजार र एउटा गोरु पालनका लागि २० हजार नगद उपलब्ध गराएको छ । यो नऔ पटकको घुम्ती कोषबाट हस्तान्तरण गरिएको हो ।
वाली विमा, शेयर रकम बृद्धी, एक घर एक सदस्य साना किसान सहकारीको सदस्य बनाउने, शेयर सदस्य म्यादी विमा गर्ने, ऋण विमा गर्ने लगायतका कार्यक्रमहरु गर्ने अध्यक्ष सिता दंगालले बताईन् । सोहि अवसरमा उत्कृष्ट ऋणी लक्ष्मी बजगाई, उत्कृष्ट शेयर सदस्य संगिता दाहाल र टुकमाई बजगाईलाई सम्मान गरिएको थियो । जन्मेको दिन सदस्य बनेका बाल सदस्यहरुलाई पनि न्यानो कपडा सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, संस्थाका सल्लाहकार मणिप्रसाद सापकोटा, राष्ट्रिय सहकारी बैकका बनेपा शाखा प्रमुख उपेनद्र दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, नारी जागरण सहकारी अध्यक्ष देवकी दाहाल, डाईनामिक सहकारीका कोषाध्यक्ष गौतम श्रेष्ठ, सहकारीका उपाध्यक्ष सिता सापकोटा, सचिव सनिता बजगाई, कोषाध्यक्ष रसिला पराजुली, लेखा समिति संयोजक रञ्जु सापकोटा लगायतले सहकारीले गरेका गतिविधिहरु र आगामी योजनामा सहकारीले खेल्नु पर्ने भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।