बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अध्ययन अन्तिम चरणमा, ७ अर्ब रुपैयाँ लाग्ने अनुमान
बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अध्ययन अन्तिम चरणमा पुगेको छ । बढीमा डेढ साताभित्र अध्ययन प्रतिवेदन आउने सडक विभागले जनाएको छ । तत्काल निर्माण थाल्न भने बजेटको समस्या भएको छ । बजेटका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्नेबारे छलफल भइरहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए ।
प्राधिकरणले योजना लिएर आउन भनेको र सबैको योजना संकलन गरेर बजेटबारे निर्णय हुने उनको भनाइ छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन् । यसबारे प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चासो दिएकाले प्राधिकरणको कोषको बजेटबाट निर्माण थाल्नेबारे छलफल गरिएको हो । अध्ययनको अन्तिम प्रतिवेदन नआइसकेकाले लागत टुंगो लागेको छैन । सडक डिभिजन भक्तपुरको अगुवाइमा निर्माणमै जान मिल्ने गरी अध्ययन भइरहेको उनले बताए ।
महानिर्देशक पोखरेलले आउने बर्खामा सवारीसाधन चल्न मिल्ने गरी दिगो संरचनाका साथ निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए । बर्खामा चलाउन मिल्ने गरी वैकल्पिक सडक सुधार गर्न पनि बजेट माग गरिएको छ । भकुन्डेबेसी– मेच्छेपौवा–नारायणथान–सिन्धुलीटार हुँदै नेपालथोक पुग्ने सडकलाई वैकल्पिक मार्ग भनिएको छ । त्यसपछि मध्यपहाडी राजमार्ग भएर सित्खा पुल हुँदै बीपी राजमार्गमा बाटो जोडिनेछ । प्रारम्भिक अध्ययनमा बीपी राजमार्ग बनाउन करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
तीन वर्षभित्र सक्ने गरी निर्माण थालिने पोखरेलको भनाइ छ । त्यसपछि ठेक्का प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने उनले बताए । काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा गत असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षति गरेको छ । यसको ८ दशमलव ७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ । तर सवारी चाप उच्च भएकाले दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । यो सडक भएर दिनको ७ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।