जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको छ ।

दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको नगर अस्पताल दल्लीमै उपचार भइरहेको छ।

यस्तै, अर्का घाइते नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ।

प्रहरीले एक्कासी ब्रेक फेल हुँदा जिप दुर्घटनामा परेको अनुमान गरेको छ। जिप सडक बाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।