काठमाडौ विश्वविद्यालयमा पहिलो चरणको ३० औं दीक्षान्त समारोह, अनुसन्धान नवप्रवर्तनमा जोड
धुलिखेल/काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त (पहिलो चरण) समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भएको छ ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षा ब्यवहारीक र प्राविधिक सहित जीवनपयोगी बनाउन त्यहि अनुसारका पाठ्यक्रम निर्माण गर्न विश्वविद्यालयलाई सुझाव दिए । विद्यार्थीहरुले पनि नेपाल र नेपालीहरुका लागि राष्ट्रियता, आवश्यकता र आयआर्जन उन्मुख कार्यमा सहभागि हुन कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरुलाई अनुरोध गरे । उपकुलपति भोला थापाले सही सीप, प्रतिष्ठित डिग्री र बलियो मानसिकताबाट सुसज्जित भएकाले उच्च शिक्षामा न्याय र समानताका लागि महत्वपूर्ण कोसेढुङ्गा बनिरहेको बताए ।
शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, सामाजिक प्रभाव र वैश्विक पहिचान निर्माण गर्न सम्पूर्ण ऊर्जा केन्द्रित गरेको उपकुलपति थापाले बताए । लक्ष्य हासिल गर्नका लागि स्थानीय र विश्वव्यापी बजारका बदलिँदा मागहरूलाई ध्यानमा राखी विशेष रूपमा तयार पारिएका कार्यक्रमहरू सञ्चालन गरेको उनले बताए । ज्ञानलाई लोकतान्त्रीकरण गर्ने काठमाडौँ विश्वविद्यालयको लक्ष्यअनुरूप हामीले उन्नत डिजिटल प्लेटफर्मद्वारा समर्थित सुलभ शैक्षिक विकल्प प्रदान गर्दै पहुँच बढाउने काम गरेको उपकुलपति थापाले बताए । वैश्विक रूपमा काठमाडौँ विश्वविद्यालयको ब्रान्ड मूल्यलाई बलियो बनाउनका लागि हामीले दृश्यात्मक र अनलाइन उपस्थिति निर्माण गर्दै आएको बताए । अनुसन्धानमा नवप्रवर्तन, शिक्षा र उद्योग, अन्तर्राष्ट्रिय सहकार्य र पहुँच गर्ने कार्यक्रमहरु अघि बढाईएको उनले बताए ।
काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाईन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ । त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन इनडिजाईनस एजुकेसन एण्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन टे«ेनिङ्ग एण्ड डेभलपमेन्टमा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको छ । स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलो पटक उपाधि प्रदान गरिएको हो । स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साईन्स मेडिकल इमाईजिङ्ग टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साईन्स इन ल्यावोटरी मेडिसिनमा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिएको हो । तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी रहेका छन् । दीक्षान्त समारोहअघि काठमाडौं विश्वविद्यालय सभाको ९८ औं बैठक प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालय परिसरमा बसेको प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन् । भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा. डा. टी. एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको सहभागितामा उक्त हुने समारोह आयोजना गरिएको हो ।
समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना सहित जम्मा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत रहेका छन् । तीमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।