माधवको निधनप्रति माओवादी केन्द्रद्वारा शोक वक्तव्य जारी

बनेपा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माधव खनालको निधनमा शोक वक्तव्य जारी गरेको छ । आइतबार पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै काभ्रेली कम्युनिष्ट आन्दोलनको पुरानो सालिन, बौद्धिक र अग्रज नेता खनालको निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समन्वय समिति काभ्रेका संयोजक भोला प्रसाद अर्यालद्वारा आइतबार जारी शोक वक्तव्यमा भनिएको छ ’उहाँले २०३६ सालको निरंकुश पञ्चायती विरोधी विद्यार्थी आन्दोलनदेखि नै आफूलाई संघर्षको मैदानमा खडा गर्दै आउनुभएको थियो ।सामन्ती राजतन्त्रको विरुद्धको लडाईमा सधैं अग्रमोर्चामा उभिनुभएको थियो । जनताको गाउँ बस्तीहरुमा क्रान्तिकारी माक्र्सवादी विचार र चेतनाको निरन्तर प्रवाह गर्दै आएका खनाल सामाजिक , राजनीतिक र शैक्षिक क्षेत्रको परिवर्तनको पक्षमा लाग्नुभयो । उहाँको निधनले पार्टी पंक्तिमा अपूणीय क्षति पुगेको छ ।’

नमोबुद्ध नगरपालिकाका वडा नं.७ निवासी अग्रज नेता खनाल लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको सिलसिलामा २०८१ मंसिर २९ गते भरपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।