पनौतीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १ हजार बढी विद्यार्थी सहभागी
पनौतीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पनौती क्षेत्रीय रंगशालामा आजबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले गरेका छन् ।
उद्घाटन कार्यक्रममा उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु, नीजि तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत खेलप्रेमीको उल्लेख्य उपस्थिती रहेको थियो । प्रतियोगितामा २५ विद्यालयको सहभागीता रहेको छ । पुस ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ हजार १ सय १९ विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख रामशरण भण्डारीले प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा सघाउनुको साथै अन्तरविद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको बताए । नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको पनि उनले बताए ।
उप–प्रमुख गिता बञ्जाराले सक्षम खेलाडी पहिचानको साथै विद्यार्थीमा प्रतिस्पर्धी भावना जागृत गराउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभावकारी बनेको बताइन् । यसअघि २०८० सालमा भालेश्वर माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेको थियो । पनौती नगरपालिकाले लगातार २ पटक जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी जितिसकेको छ ।