रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ / सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीले उनलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । रविमाथि आठौँ पटक म्याद थप भएको हो ।

सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

पुस ५ गते सरकारी वकिल कार्यालयले उनी विरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैर कानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो ।

सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ ।