काभ्रेपलाञ्चोक जिल्लामा विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापनमा सिकाई र आगामी कार्ययोजना सम्वन्धी कार्यशाला गोष्ठी शुरु
२०८१ मसिंर २० गते सम्पन्न जिल्ला स्तरीय विपद ब्यवस्थापन समितिको बैठकले पौष ३ र ४ गते कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार असोज १०–१२ गते परेको अविरल वर्षातका कारण बेपत्ता भएका ६ जनाका आफन्तलाई मृत्यु भए सरहको राहत उपलब्ध गराईएको छ । तेमाल गाउँपालिका वडा नम्वर २ स्थित ६ बर्षिया बालिका अपृया तामाङ र ३ बर्षिया बालिका पृया तामाङ, चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० बर्षिया शान्ता रिमाल, धुलिखेल ८ की ४२ बर्षिया गिता श्रेष्ठ, बेथान्चोक ४ की ज्ञानु परियार र खानीखोला ६ की देविमाया स्याङ्गतान बेपत्ता थिए । उनिहरुका आफन्तले प्रति मृतक २ लाखका दरले संघ सरकारको र प्रदेश सरकारको समेत राहत पाएका छन् ।
विपदको तथ्यांक हालसम्म पनि उपलब्ध हुन सकेको छैन । उक्त बैठकले १० दिन भित्र स्थानीय विपद ब्यवस्थापन समिति मार्फत तथ्यांक उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको थियो । कार्यशाला गोष्ठीमा तथ्यांक सम्वन्धी छलफल भएको थियो । तथ्यांक उपलब्ध भए पछि १५ हजार र २० हजारको दरले तत्काल उपलब्ध गराउनु पर्ने अस्थायी राहत उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेलले जानकारी दिए । तथ्यांक अध्यावधिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समिति समेत गठन गरिएको थियो । जाडोको मौषम भएकाले बाढी पिडीतहरुका लागि न्यानो कपडा लगायतका सामाग्रीहरु उपलब्ध गराउने, बाढीले बगाएका रुखहरु ढलेर अलपत्र रहेकाले त्यसको ब्यवस्थापनका लागि आवश्यक कानूनी प्रकृया वन कार्यालय मार्फत शुरु गरिएको, बनेपा र धुलिखेल नगरपालिका अझै संकटग्रस्त घोषणा नभएकाले तत्कालै घोषणाका लागि सरकारसँग अनुरोध गर्ने, अवरोध भएका सडकहरु खुलाउन, खुलेका सडकहरुलाई दुईतर्फि गर्न र दुईतर्फी भएका सडकहरुको मर्मत र स्तरोन्नतीमा ध्यान दिन गरिएको निर्णयका बारेमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्री यादवलाई स्मरण गराएका थिए । बैठकले बस्ती स्थानान्तरण, पुर्नस्थापना, खानेपानी, तटबन्ध, अस्थायी आवास, स्थायी आवासका विषयमा प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।