प्रारब्ध

पुसको महिना थियो। जाडोले मुटु कर्याप्प समाउथ्यो भने माथिल्ला दाँत र तल्ला दाँतका लहरहरूबीच कटक कटक गरेर आपसमा जुध्थ्यो। तुसारो चुना छरिए झैँ आँगन भरि पोखिएको थियो। सबैका घरमा लघु जलविद्युतको विजुली बलिसकेको थियो। ठाउँ ठाउँ धमिराले छिनाल्न लागेका पोलहरू कुले बाजेको ढाड जस्तै बांगा देखिन्थे। हावाको स्पर्शले समेत पोलको हल्लाई र तारको लर्काईले बेला बेला बिजुली झ्याप झ्याप जान्थ्यो।

अन्तरे काका गाउँमा सबभन्दा धनी मानिन्थ्यो। साउदीको लाहुरे हो ऊ। उस्को घरमा सोनीको रंगीन टीभी थियो। आँगनमा घोप्ट्याएको थियो डिशहोमको छाता। भित्र जोड जोडले हाँसेको सुनिन्थ्यो परगाउँबाट। कहिले सुक्क सुक्कको आवाजमा परेली भिजाउँथे गाउँका बुढाबुढी देखि तरून तन्नेरीदेखि बालक सम्म। नेपाली चलचित्रको कथाको भावूकता उनेको आफ्नै जीवनसँग मेल खाएर होला। पछ्यौरीको फेरले लपक्क भिजेका परेलीलाई पुछ्थी मैना। सुनिन्थ्यो सुस्तरी हिक्क हिक्क गरेको। उमेरले २१ । १५ बर्षमा बिहे गरेकी । ५ कक्षा  सम्म दखिनेको जंगल छेउ स्कूलमा पढेकी थिइन् । हल्का जोड घटाउ,चिठी पढ्न सक्ने र पैसा भने गन्न सक्ने थिई,बिहे गरेको १ बर्षमै छोरो कमललाई जन्म दिइन् । उनी सधैँ साँझको धन्दा सकाएपछि कमललाई काखी च्यापेर टीभी हेर्न पुग्थी। कमल नि आमाको काखमा तेर्सो परेर एउटा हातले अर्को दुधलाई स्पर्श गर्दै अर्को दूध चुसिरहन्थे।

कमलको बाऊ गाउँंको ढुङ्गाखानीमा काम गर्थ्यो। जसोतसो बिहान बेलुकाको गर्जो टर्थ्यो। नुन,तेल,मसला,मकै यस्तै यस्तै। ज्यान ख्याउटे मैना भन्दा २ बसन्त छिप्पिएको,केही आसा कसैको भरोसामा अडिएको जिन्दगीलाई घिसार्दै हिडिरहेको थियो। गाउँमा काम थिएन,मेलापातको मौसम कैले काहीँ मात्र हो। मेलापात बाहेक मैना फुर्सदिला हुन् । फुर्सदको समयमा उनी रक्सी बनाउँथिन,गाउँको कुलेको पसलमा लगेर बेच्थिन। मानाको ३० रूपियाँमा,त्यो पनि अधियाँमा। लम्साल बाजेको मकैलाई पिनपान गरेर मानाको १५ भने कमाउँथिन। त्यो पैसालाई बिँडी बेरे जसरी बेरेर थैलीमा राखेर पटुकामा घुसार्थी। कमलको स्कूलमा परीक्षा फी भनेर कहिलेकाही निकाल्थी।

कमल २ कक्षा पढ्ने भैसकेको थियो। ऊ कैयौँपल्ट छिनेर जोडिएको तुनामा अल्झेको पैतालातिर खिइएको हात्तीछाप चप्पल बजाउँदै स्कुल जान्थ्यो।टाँक नभएका सर्टमा दुई छेऊ च्याप्प कसेर हिड्थे। तै पनि नाइटो देखिरहन्थ्यो। करङका हरिया नसा र हड्डीले उठेका छात्ती प्रष्ट देख्न्थ्यो। चामलका बोरालाई काटेर बनाएका साना घट्टे झोलामा किताब खांदेर कलेटी परेको ओँठ लिएर स्कुल जान्थ्यो। स्कूलका झ्याल ढोकाका खापा थिएनन्। सुर्जेको प्रकाश भित्रसम्म लमतन्न परेर पसेको थियो। कमल त्यहीँ ठाउँ रोज्थे। अनि ढाड सेकाउँथे। सरको नयाँ आइरन लगाएको कपडा देखेर उनीहरू दंग पर्थे,खुट्टामा छालाको जुत्ता उनीएको हुन्थ्यो। पाइन्टको पछाडी खल्तिमा खाँदिएको पर्सले पुटुक्क देखिन्थ्यो । एकाग्र भएर सुनिरहन्थेँ सरका कथा। कथाका रमाइला कहानीले सबै बुरुक्क उफ्रन्थेँ। भूइमा ओछ्याएका फलेक कट्याक कट्याक गर्थे। कट्टू उध्रेर ऊ घरी घरी हातले छोप्थ्यो। कथाको मजा लिँदै थोते मुखबाट हाँसेर र्याल ह्वाल पोखाउँथ्यो। बुरुक्क उफ्रेर थचक्क फलेकमा बस्दा तुरी बाहिर निस्कन्थ्यो,सबै हाँस्थे ऊ भने रातोपिरो भएर केही बेरसम्म घोप्टिन्थ्यो।

शहरको सर रहेछ। स्थायी नियुक्ती लिएर आका रहेछन् । स्कूलका अध्यक्ष नरबहादुर बा कड्किएका थिए। नरबहादुरको भान्जा लाइसेन्स दिएर बसेका रहेछ्न। रिजल्ट आउन २/३ महिना बाँकी हुँदो हो। उस्लाई नियुक्ति गराएर अलि अलि दक्षिणा नि पाइने,गाउँकैले जागिर पाइने बेला बेला कुरो निकाल्थे। त्यसैको झोंकमा नयाँ सरलाई बसाईको व्यवस्थापनमा चासो नदिएको रहेछन् । कुले काका गाउँका इमान्दार मात्र होइनन् ऊनी गाउँ शहर गरिरहन्छ्न। पसले भएकाले बाठा पनि छन् । ऊनका २ छोरा यसै स्कूलमा पढ्थे। सरलाई फकाईतुल्य गरेर आफ्ना घरमा भित्र्याई छाडे। “सर तपाईले खान,बस्नको चिन्ता लिनु पर्दैन।”सरले स्वीकृतिको मुन्टो हल्लाए। मेरो २ बच्चा छन् ,त्यसलाई लाइनमा ल्याइदिनु परो! सर मुसुक्क हास्नु भो। उता नरबहादुर भने पसल आउनै छाडे सरलाई राखेदेखि। पछि सरले आफ्नो छोरालाई नि लिएर आयो। त्यो घरमा ३ जना भए केटाकेटी । सबै खुब रमाउँथे।

कमलले मनमनै सोच्यो!उनीहरू तीन जना छन् । म थपिएँ भने ४ हुन्छन् । ऊनीहरू सबै धनी हुन्,म गरिब छु। ऊनीहरूका लुगा र खुट्टामा अल्झाएका जुत्ताले त्यहीँ संकेत गर्थ्यो। म चिलाउनेको रूखमा छेल पारेर सधैँ हेरिरहन्थेँ। कहिलेकाहीँ सरलाई पढाउँदा घडीमा घाम ठोक्केर मेरो आँखामा चमक्क गर्न आइपुग्थ्यो। म फिस्स हाँस्दै टुक्रुक्क बस्थेँ। ऊनीहरू बिहान उठ्नेबित्तिकै एउटा हातमा चिया र अर्को हातमा दुनोट हुन्थ्यो। म परबाट जिब्रोको कुनाकुनामा रसाएका मिठास र्यालहरूलाई घुटुक्क निल्थेँ। सरको हँसिलो अनुहार र सिकाईको हाउभाउ देखेर ऊनीहरू खुशी हुन्थे।  कति मीठो कथा भन्नु भा होला कल्पना गर्न सकिन्न।

ऊनीहरू खाना खान ह्वारह्वार्ती भित्र पसे । कमल बिस्तारै शान्त पदचाँपलाई पसल तर्फ बढाए। अघि भर्खरै दुनोट खाएर फालेका प्लास्टिक झोलालाई च्याप्प समातेर दौडिए। भुस्याहा कुकुर ऊसलाई हेर्दै थियो। कमल जस्तै विरक्त भएर टोलाइरह्यो। चिलाउनेको बुट्यानमा पुगेर प्लास्टिकको भित्र भित्र कलिला हातहरू सल्बलायो। हात चिल्लो भयो। कसैले देख्ला भन्दै यताउती हेर्दै हात चाट्न थाले। मिठो बास्ना आइरहेको थियो। दुनोट खाने सपना पूरा भए झैँ लाग्यो। त्यहिँ बेला अन्तरे काकाले धाप मार्दै के हो कमल? के गर्दै? दुनोट चोरिस क्या हो? ऊ रातो पिरो भयो। लल्याक लुलुक भयो। ज्यान फतक्क गल्यो। होइन काका,आगो सल्काउन भनेर प्लास्टिक ल्यार आको। बल्ल ऊ फुत्क्यो।

अन्तरे काकाको घरमा टिभी हेर्नेको घुइँचो थामिसक्नु थिएन। झन आज पाहुना थपिएको थियो। माघे संक्रान्तीको दिन रहेछ। पकाएका पकवानको बास्नाले नाक खुसी थिए। कमलका आमा एक कुनामा अन्तरे काकाको मकै छोडाउँदै टीभीमा आँखा जोत्दै थिइन। घरी घरी कक्रक्क परेको कलेटी ओठबाट हाँसो फुत्किन्थ्यो।मकैको  घोगा समाउँदै घर्यास घर्यास पार्दै मकैका दाना खोयाबाट फुत्काउदै थिइन् । कमलले सोच्यो: आज मेरो घरमा टीभी भै दिया भए,यसरी चाडबाडमा अर्का घरमा यसरी लजाएर बस्न आउनु पर्दैनथ्यो। अनि उस्ले आमाको शरीर एकनासले नियाल्यो।

चरचरी फुटेको पैतालामा काला ठूला धर्साहरू थिए। मासूका उचिरा गएको थियो। जिङरिङ परेर कहिलै नकोरेको कपाल। ४/५ वटा लर्किएर आँखा सम्म आएका थिए। बिहेमा मामाले किन्देको पछयौरा, राघेबाघे भैसकेका पटुका। पटुकामा उनिएको धोक्रे लुङ्गी। खुम्चेर घुँडा घुँडा पुगेको थियो। दुब्लाएर आँखा भित्र र गालाका हड्डी चुच्चो देखिन्थे। सपनाहरू भित्र भित्रै खुम्चाएर राखे झै मलिन अनुहार।

कमल रोयो भित्रभित्रै नराम्रोसँग। ऊ टोल्हायो। भित्रभित्रै जलन भयो। हिक्क आयो,रूद्रघण्टीमै रोक्यो। आँसु छचल्कियो। हत्केलाले पुछ्यो। आमा प्रती दया पलायो। झन ऊ दुखी भयो। ज्यानमा सल्याङमल्याङ गर्न थाल्यो। अनि ऊ त्यहाँबाट भाग्यो । भोर्लाको बोटमा झुन्डिदै पिङ खेल्न थाल्यो । आर्थिक संकटको चङ्गुलबाट उम्कने हर प्रयासहरू सोच्न थाल्यो।

आँगनको छेऊको भोगटे रूखमा चढ्यो। घरमा नजर जुधायो। फेरि उसलाई रून मन लाग्यो। भत्किएका आंगन,मक्किएका खाँबाहरू। खरले छाएर खस्न आँटेका पाल्हीहरू। जुरेलीको चुल्ठो झैँ देखिने हावाले कहिले कता कहिले कता फर्काएका धुरीहरू। जुइना चुडिएर खसेका भाँटाहरू। कलेटी परेका आम्खोरा अनि सयौं चोटपटक सहेका गाग्रीहरू। ऊ नतमस्तक भयो। पहेँलो बत्तीमा लागेको मयल पखाल्दै जिन्दगीका गरिबी फाल्ने आइडिया सोच्दै।

म जाऊँ त उमेर पुगेको छैन,अब बाऊलाई बिदेश पठाउनुपर्छ उस्ले सोच्यो। बेलुकी आमा बाबू र ऊ संगै बसेर कुरा गर्न थाल्यो। सबै हालत बतायो। अरूसँग तुलना गर्यो। रूवाबासी चल्यो। सन्नटा छायो। गर्ल्याम्म अंगालो हाल्दै आमा रूइन। आमाको आँसु सुस्तरी उस्को घाँटीमा सल्बलायो। हिक्क हिक्कले उस्को छात्तीलाई स्पर्श गर्थ्यो। छोरा बुझ्ने ठूलो भएकोमा बाबू खुसी भयो। ऊ बिदेश जान तयार भयो।

ऋण खोजेर पासपोर्ट बनायो। मेनपावरमा काम गर्ने राजुलाई पासपोर्ट बुझायो। राजुले भन्यो मीठो लवजमा-दाइ गएपछी छापिन्छ नोट धमाधम” ऊ कल्पनामा डुब्यो। केही महिनामा ऋण तिरम्ला। त्यसपछी कमललाई राम्रो स्कूलमा भर्ना गर्दिन्छु।मैनाको आंग फेर्दिन्छु। साबुनहरू किनम्ला र बर्षौदेखी लट्टाई परेको कपाल काँइयो किनेर फुकाम्ला। एउटा ठीक्कको टीभी जोडम्ला । संगै बसेर मकै भटमास खाँदै  हेरम्ला टेरिसिरियलहरू ! भत्किएका आंगनहरू पुरपार गर्नु छ। धमिराले खाएर मक्किएका खाँवाहरू फेर्नु छ। आल्मुनियमका झ्यालढोका हालम्ला। चिटिक्क हरियो रंगिन जस्ताले कमलको घर हुनेछ। कमलको कमलो मनहरूमा रहेका अनिगिन्ती चाहनाहरूको मर्मत सम्भार हुनेछ। यस्तै यस्तै कमलको बाबू कल्पनामा डुब्यो। अचानक मैनाले “कमलको बाबू ढिडो पाक्यो खान आऊ” बोलाई। अनि झसंग भएर ऊ खिस्स हास्यो। मुहारमा गुलाफ फुल्यो। ढिडोको डल्लो मुखमा हाल्दै “अब चामलको भात पाक्नेछ। कुकरमा सिठ्ठी बज्नेछ,ग्याँस चुलो ल्याउनेछु।”कमलको बाऊले हँसिलो गुलाफ फुलेको अनुहारमा भन्यो।” कुकरमा सिठ्ठी बज्दा त म डराउँछु,सधै अन्तरे काकाकोमा बज्दा सातो उँड्छ”, मैनाले भनी। “बिस्तारै बानी पर्छ”कमलको बाबूले सम्झाए। अन्य बेला भन्दा आज धेरै मीठो भएको आभास भयो ।

समय बित्दै गयो। कुले काकाकोमा फोन आउँथ्यो कमलको बाऊको। मैना मच्ची मच्ची बोल्थी। पसलमा जम्मा भएकाहरू खित्का छाडेर हास्थेँ। मैना सर्मराउथी,कान तातो भएर आउँथ्यो,अनि झुक्थी। ३ महिनामा पहिलो पल्ट ३० हजार रकम आयो। रिन हल्का तिर्यो। यसै क्रममा ऋण तिर्न सक्यो कमलको बाऊले। अनि अर्को पटकको पैसाले कपडा र गहनापात जोड्यो मैनाले। दुई कानमा सुनका रिङ झुन्डिएको र कुर्ता सलवारमा खुब राम्री देखिन्थी। पानबुट्टी ओँठमा लालीले त कम्ती राम्री भएकी । अब उस्को गोडा फुट्न छोड्यो। चुच्चे गालाको हड्डी भरिन थाल्यो। हातहरू मुलायम हुन थाल्यो।२८कि  एक सन्तानकी  मैना राम्री देखिन्थी। बैँशले हर्लक्क बलेकी थिई। अब भने मोबाइल समेत किनेकी थिईन क्यामरावाला। अब फोन मोबाइल मै हुन्थ्यो,कुले काकाको पसलमा जानू पर्दैनथ्यो।बिस्तारै जीन्दगी रमाइलो हुँदै गैरहेको भान हुन्थ्यो।

उध्रीएको कट्टुमा हातले छोप्दै तुरी लुकाउनु पर्ने कमल अब जिन्स पाइन्ट र सलमान खान अंकित भेस्टमा सजिन थालिसकेका थिए। हातमा चिमचिमे कालो घडी टल्किरहेको थियो। खुट्टामा झिमिक्क झिमिक्क गर्ने सेता जुत्ताले हिरो झै देखिदै गैरहेको थियो। खोल्सामा फालिएका थोत्रा कापीका पन्ना च्यातेर होमवर्क गर्ने दिन भागिसकेका थिए। कुले काकाका पसलमा फालिएका दुनोटका प्लास्टिक चाट्ने दिन भागिसकेका थिए। सरका छोरा र कुलेका २ भाइ छोरा गरि ३ जना खेल्ने आँगनम ऊ थपिएको थियो। भएको थियो ४। चिलाउनेको छेलबाट लुकेर सरको कथा सुन्नु पर्दैन थियो। अन्तरे काकाकोमा रङ्गिन टिभी हेर्न जान पर्दैन थियो। घरले रूप फेरिसकेको थियो। सिट्ठी बज्ने कुकरमा चामलको भात पाक्न थालिसकेको थियो। मैना पहिलेको मैना रहेन भने कमलमा पुरानो कमल रहेन!

कमलको बाऊसँग मस्की मस्की गफ गर्थी मैना। बाऊ खुसी देखिन्थे। अझ मैना भन्थी-“कमलका बाऊ चाँडो आऊ,एउटा छोरी जन्माउनु पर्छ!”बाऊ रातोपिरो भएको थियो। इमोमा लाजले हेल्लो हेल्लो भनेको मात्र सुनिन्थ्यो। कमल यो सुनेर लजायो। नसुनेझैँ किताबमा मुन्टो जोत्यो। अनि जिब्रो चलबलायो। अनि आँखामा अलिकती हाँसो फिजारियो। मैनाले पत्तै पाइन।

कमललाई नि बैनी जन्माइदेओस झै लाग्थ्यो। बैनी भएको भा ऐले सबै काम अह्राउनु पाउँथे। यस्तै यस्तै कुरा किताबका अक्षरमा कुदाउँदै मुन्टो जोतेर घुर्न थाल्यो। आमाले ओछ्यानमा पल्टायो । अनि सिरकले मुख छोप्ला छोप्ला झैँ गरि ओढाइदिई।

मैना मस्किन थाली। उस्ले कोहलपुरबाट फर्केका सल्लेरी भञ्ज्याङका हरिसँग फेसबूकमा साथी भै सकेकी थिई। अब ऊस्को बोलीमा कन्फिडेन्स बढिसकेको थियो। लक्का जवान देखि हाली भने मुसुक्क मुस्कान छर्थी। गाजलु सिरुपाते आँखा र पानबुट्टे ओठको मन्द मुस्कान र सेताम्मे हिमाल झैँ मनमोहक दन्त लहरको कसैले सामना गर्न सक्दैनथे।गाउँमा लाहुरेकी बुढी भनेपछि कुनजरको भावमा भुसतिघ्रेहरू झुम्मिन्थे। कोही फोन नम्बर माग्थे,कोही फेसबूक आइडी । अश्लीलतको हर्कत प्रदर्शन गरि हाल्थे।गाउँमा यस्ताहरूको हालीमुहाली थियो। कमल सुतेपछी मस्तसँग बात मार्थी बाऊसँग । त्यसपछी हरिसँग। दिनदिनै कुरा बढ्दै गयो,मैनाले आफैलाई बिर्सी। सर्दुङ्ग बजारको हाटमा सबै आउँथे। मैना पनि मेकअप गरेर जान्थी। हरि नि आएको थियो। उमेरले पैतिस हरि खाइलाग्दो ज्यान झट्ट हेर्दा २९ झै देखिन्थ्यो। छात्ती पुष्ट,बलियो,कालो चश्मा,निलो जिन्स पाइन्टमा एडिडस कम्पनीको ज्याकट र सेतो स्पोर्ट जुत्ताले हिरो देखिन्थो। कानमा उनेका सेता एयरफोनले त ऊ ह्यान्डसम देखिएको थियो।

मैना लजाई। गालो रातोपिरो देखियो। आँसु चुहिएला झै भयो। बिहे भए पनि मलेसिया गएर फर्कदा स्वास्नी अर्कैले उडाइसकेको थियो हरिको। अहिले त ९ बर्ष भयो। ऊ एक्लो भएको। विचरा एक्लै होला मैनाले मनमनै सोँची । अनि झसंग भै । “छ्या म के भाको म त बिबाहित हूँ।” अपर्झट उस्ले बोलायो-मैना! ऊ तर्सिई,अलिकती लजाई। “हजुर” आज यतै बसौँ न ल! ऊ रिसाई।” म बिबाहित मान्छे यसरी बस्न मिल्दैन। ”  मैना कराई। हरि बिस्तारै फकाउने सूरमा थियो। जुगल होटल थियो बजारको कुन्नातिर। दुबै त्यतै गए। हरिले होटलवालालाई सोध्यो-रूम छ? जवाफ आयो-एटेच कि सिङ्गल! “सिङ्गल भए नि हुन्छ। उस्ले पैसा तिर्यो। शंकाको भावले होटलवालाले मैनाको शीरदेखी पाऊसम्म हेर्यो  अनि हातको इसाराले राम्रीको भाव व्यक्त गर्यो। मैना बजार हिड्दा सिन्दुर पोते लगाउँथदिनन।सबै बिबाहित भनेर झुक्किन्थे। हरि अघि अघि मैना पछि पछि लुखुर लुखुर पछ्याइरह्यो। १०३ कोठा नं. !हरियो पर्दा लगाएको थियो। बेड एउटा मात्र थियो। मैना डराई। सिरक भरी उडुस र उपिया थिए।मन ढ्क्क फुल्यो। “किन यहिँ बस्ने”मैना कराई।  चुपको ईसारामा हरिले चोर औला ठाडो पारेर इसारा गरिन। मैना चुप लागि। डे मा नि बस्न मिल्दो रहेछ। बल्ल थाहा पाई। यतिन्जेल उस्ले साउदीमा रहेको पति बिर्सिसकेकी  थिई भने कमलको याद नै भएन। मैना जवानी उम्लेर मातिएकी थिइन् । तर नराम्रो हर्कत भने गरिन। केही बेर गफ गरेर फर्की।

मैना साँझमा घर फर्की। कमल होमवर्क गर्दै थिए । सबै कुरा कमललाई थाहा भै सकेको थियो। गाउँमा हल्ला थियो। मैना हरिसँग लागि।”बूढो साउदीको घाममा तातेर पसिना पठाएको बिर्सी”गाउँलेहरू कुरा काट्दै थिए।जुगल होटल छिरेको अन्तरे काकाले पत्ता पाइसकेको थियो।अन्तरे काका बेला बेला खसी बोका लगेर हाटमा बेच्छन। उस्ले देखेको थियो। तर मैनाले पत्तै पाइनन।मैना होटलमा बसेकी पक्का हो,तर ऊनी अरूले हल्ला चलाए जस्तो थिइन। हल्लाले ऊसलाई प्रमाणित गर्न बाध्य बनायो।  हल्ला एक कान दुई कान मैदान भै फैलिएको थियो। कमल नतमस्तक थिए। ऊ थाहा नपाए सरी बसिरह्यो। एक हप्ता पश्चात् मैना होहल्ला छिचोल्न नसकेर सूईकुच्चा ठोकी हरिसँग,उतै कोहलपुरतिर। उता बाऊ बहुलाउन थाल्यो। भन्दै थियो-“मैनाले मलाई सिध्याई।”बाऊ सम्झेर कमल रोयो कसैले नदेख्ने गरेर,हिक्क हिक्क लुकायो।आँसु पुछ्यो। खेल्न जान छोड्यो। ऊस्को अनुहारमा निरासभाव र एक्लोपन छचल्किएको प्रष्ट देखिन्थ्यो। मैनाले छोडेर गएको २ बर्षपछी बाऊ घर फर्क्यो। फर्केको १ महिनामा  बाऊले अर्को बिहे गरे। कमल खुशी रहेन।

नरे काका सामान लिन बजार झर्थे। बजारबाट फर्कदा लत्ता कपडा ल्याइदिन्थे। नरे काका भन्नुहुन्थ्यो-“कमल तँलाई आमाले सम्झेको छ,बाबू राम्रोसँग पढ भनेकी छे!”मलाई मन पर्ने लुगा अनि दुनट पठाकी थिइन्  । दुनट टोक्दै गहभरी छचल्किएको आँशु गाला र नाकका बीच  दुई  खोल्सा भै बग्यो। मुखमा दुनटसँगै २ थोपा आँसु खस्यो,मुखभित्र नुनिलो भयो,अनि दुनट खायो। लुगा मन पर्यो तर लगाउन मन लागेन। आमाको काँख सम्झ्यो। एकोहोरियो। किताब हेर्न छोड्यो। बिस्तारै पढाइ बिग्रदै गयो। त्यो रात ऊ बेस्कन रोयो। ऊस्लाई पुरानो मैनाको याद आयो। नयाँ मैना देखेर झोक चल्यो। सारा दु:ख हटाउन परदेश पठाउने उस्को कुबुद्धी सम्झ्यो। धमिराले खाएका घर नै प्यारो लाग्यो। चरचरी फुटेको गोडा भएकी मैना नै प्यारो लाग्यो। पुरानो ढुंगा खानीमा काम गर्ने बाऊ नै प्यारो लाग्यो। खरले छाएका जुइना चुटेको लथालिङ्ग घर नै प्यारो लाग्यो। अन्तरे काकाको घरमा भएको रंगीन टीभी नै उचित लाग्यो । आधुनिकताको रोमाञ्चमा बाऊ र आमाको मायाबाट अलग कमल कमजोर भयो। ढल्ला ढल्ला जस्तो भयो। सानामा खोसाखोस गरेर काखमा राख्ने कमल आज घाँडो भयो। कमललाई हिजोकै दुखको दिन प्यारो लाग्न थाल्यो। यस्तै सोच्दा सोच्दै कमल निदाई सकेको थियो।