मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकारः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठुला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकता घुणास्पद कार्य तथा समाज विकासको ऐजेरु भएकाले यसलाई फेदैमा उखेलेर फाल्न अहिलेको सरकार तत्पर रहेको र जातीय उत्पीडनको काँडा निकाल्न लागिपर्ने बताए ।

असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुख हुन सक्दैन नसक्ने र सुखी हुन असमानता र छूवाछूत हटाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधानमा आफूहरुले त्यही भएर सामाजिक न्याय र समानताको व्यवस्था गरिएको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने बताएका छन् ।