बाढीपहिरो प्रभावित क्षेत्रको पुर्ननिर्माण सम्बन्धी कार्यविधि अन्तिम चरणमाः मन्त्री यादव
खानेपानी मन्त्री प्रदीप यादवले बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि पुस दोस्रो सातासम्ममा कार्यविधि निर्माण भइसक्ने बताएका छन् । काभ्रेको धुलिखेलमा आयोजित विपद जोखिम न्यूनिकरण र विपद व्यवस्थापनमा सिकाई तथा आगामी कार्ययोजना विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्रीले उक्त जानकारी दिएका हुन् । गृहमन्त्रालयले पुर्ननिर्माण सम्बन्धी कार्यविधि बनाएर मन्त्रीपरिषदमा पेश गरेको र मन्त्रीपरिषद्ले निर्णय गरिसकेको भन्दै उनले कार्यविधि विधेक परिषद्मा पुगेको जानकारी दिए । समितिले निर्णय गरिसकेपछि यो हप्तामा निर्णय हुने उनले विश्वास व्यक्त गरेका छन् ।
निर्णयलाई मन्त्रीपरिषदले अनुमोदन गरेपछि पुर्ननिर्माणको काम तीव्र गतिमा अगाडी बढ्ने मन्त्री यादवले आश्वासन दिएका छन् । एकीकृत खानेपानीमा बाढीपहिरोले पुर्याएको क्षतिको आफुले स्थलगत निरीक्षण गरेको बताउँदै उनले काभ्रेका तीन वटा पालिकाले लिखित आग्रह गरेमा आयोजना पुर्ननिर्माणको जिम्मा खानेपानी मन्त्रालयले लिने प्रतिवद्धता जनाएका छन् । आयोजनाको दीर्घकालिन व्यवस्थापन मन्त्रालयले गर्ने समेत उनले बताए । अर्को नगपालिकालाई पानी दिन्न भनेको स्मरण गर्दै उनले पानीमा राजनीति गर्नु नेपालीको संस्कार नभएको बताए ।
उनले पानी सबैले खानपाउनुपर्ने समेत बताए । फरक प्रसंगमा मन्त्री यादवले निराशालाई आशामा बदल्न सरकारले काम गरिरहेको बताएका छन् । तत्काल राहत पुर्याउनको पालिकालाई तीन तहमा विभाजन गरेर लागि पहिलो चरणमा ७१ वटा पालिकालाई १ करोड, ७५ लाख र ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्री यादवले बताए । सबै स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन परिपत्र गरिएपनि वास्तविक तथ्यांक अझै आइनसकेको उनले बताए । पुर्ण विवरण प्राप्त भएपछि त्सै अनुसार तिव्र गतिमा काम सुरु गर्ने उनले प्रतिवद्धता जनाएका छन् । विपदमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय र नागरिकले महत्वपुर्ण भूमिका खेलेको भन्दै मन्त्री यादवले प्रशंसा गरेका छन् ।
बाढीपहिरोपछिको पुर्नर्मिाण छिटो भन्दा छिटो सम्पन्न गर्ने विषयमा सरकारको ध्यान गएको उनको भनाई छ । सरकारले काम गरिहेपनि सरकारलाई बदनाम गर्न केहि तत्व लागि परेको उनको आरोप छ । सरकारलाई गाली गर्न पैसा खर्च गरेर मान्छे परिचालित गरिएको समेत उनले दाबी गरेका छन् । कार्यक्रममा संघीय सांसद एवं पुर्व मन्त्री गोकुल बास्कोटाले विकासका काम योजनावद्ध हुनुपर्नेमा जोड दिएका छन् । उनले आगामी दिनमा थप क्षति हुन नदिन खानेपानीको स्रोत, वस्ती क्षेत्र, खोला क्षेत्र छुट्याएर काम गर्नुपर्ने बताए ।
पालिकाले विपद व्यवस्थापनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो । एकीकृत खानेपानी आयोजनाले दोस्रो मेलम्चीको हालत व्यवहोरीरहेको बताए । आयोजना सम्पन्न गर्नको लागि सबै पक्ष एक हुनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा प्रदेश सांसद कन्चनचन्द्र वादे, रत्न ढकाल, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, १३ वटै स्थानीय तहका प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिती रहेको थियो । गोष्ठीमा स्थानीय तहका प्रतिनिधिहरूले विपद्मा गरिएको प्रतिकार्य, चुनौती, पुर्निर्माणका लागि पालिकाले तयार गरेको योजनाका बारेमा कार्य पत्र प्रस्तुत गरेका छन् ।