नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं / एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ। 

मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर  फोरमा पुगेको छ।   यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए।

नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्काविरुद्ध खेल्न लागेको हो। नेपालले भोलि बंगलादेशसँग खेल्नेछ। 

बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो। उसको चार अंक रहेको छ। बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ। उसको चार अंक रहेको छ। र, सुपर फोरको  अंक तालिकाको शिर्ष स्थानमा छ।

दोस्रो स्थानमा भारत रहेको छ। तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ। 

यो अंक सुपर फोरमा पनि जोडिने छ र शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोली बाहिरिने छन्।

फाइनल खेल आइतबार हुनेछ।