दोषी खुल्न नसकेका काभ्रेपलाञ्चोक जिल्लाका ‘जघन्य अपराध’

धुलिखेल/प्रहरीले पछिल्ला जघन्य अपराधमा संलग्न अभियुक्तलाई मसिनो अनुसन्धानबाट पक्राउ गरेको छ । तर विगत वर्षमा भएका जघन्य अपराधका अयिभुक्तको सुईको समेत पाउन सकेको छैन । ‘तत्कालै भएका घटनामा गरिने अनुसन्धान र पुराना घटनामा गरिने अनुसन्धानको विधी र प्रकृया फरक भएकाले पनि संलग्न अयिभुक्तहरु फेला पर्न नसकेका हुन्’–एसपी बसुन्धरा खड्काले भनिन् । मण्डनदेउपुरमा एक बृद्ध महिलाको पनि हत्या भएको छ । पछिल्लो समय महिलाहरुको कानमा भएको सून लुट्ने प्रकरणमा हत्या भएको खुलासा भएको छ ।
२०७९ कार्तिक २७ गते पाँचखाल नगरपालिका वडा नम्वर ९ स्थित पलाञ्चोक मन्दिर नजिकै दिउसो घरमा बसिरहेका दम्पती रामबहादुर थापा र श्रीमती गिता थापाको जघन्य हत्या भयो । हत्या पछि उनिहरुको घरमा रहेका सम्पती चोरी भए । सन्तानसँग अलग बस्दै आएका दम्पतीको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।

२०७९ जेठ २ गते पाँचखाल नगरपालिका १२ घर भएकी सानीमल्ल ठकुरीको घाँटी रेटेर हत्या भयो । उक्त घटनामा संलग्न अयिभुक्तको अझै पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको बताए पनि अभियुक्तको नजिक पुग्न सकेको छैन ।
२०८१ जेठ ६ गते पाँचखाल ४ जिरो किलोमा दोलखाका विष्णुबहादुर सुवेदी जलाईएको अवस्थामा तारले रुखमा बाँधेको अवस्थामा फेला परे । प्रहरीले अनुसन्धान जारी राखेको भए पनि अझै घटनाको कारण र अवस्था, अभियुक्तका बारेमा पत्ता लाग्न सकेको छैन ।

२०७५ कार्तिक ४ गते दशैको टिका दिन नमोबुद्ध ५ कानपुर तेमाल घर भएका ज्ञानध्वज तामाङको हत्या भएको थियो । प्रहरीले तत्कालै तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । एसपी रविराज खड्का आफै घटनास्थल पुगेका थिए । प्रहरीले क्षमता र प्रविधिले भ्याएसम्म अनुसन्धान ग¥यो तर पनि अभियुक्त पत्ता लाग्न सकेको छैन ।
घटनास्थलमा अभियुक्तले छाडेका तत्कालका प्रमाण, त्यतिबेला लिईने सम्पर्क ब्यक्तिका नम्वर तथा उनिहरुले प्रयोग गरेका शंकास्पद सामाग्रीहरुका आधारमा गरिने अनुसन्धानले तत्कालै अभियुक्तसम्म पुग्न सहज हुने उत्कृष्ट अनुसन्धान अधिकृत प्रहरी निरिक्षक कृष्ण गिरीले बताए । उनकै नेतृत्वमा खटिएको अनुसन्धान टोलीले रोशी ३ मा आफ्नै आमा मारेर प्रहरीमा उजुरी दिएका छोरा नै हत्यामा संलग्न भएको प्रहरीले पत्ता लगायो । त्यसका लागि प्रहरीले तालिम प्राप्त कुकुर लगायत अनुसन्धानमा प्रयोग गरिने सामान्य विधीहरु प्रयोग गरेको थियो । लगत्तै नमोबुद्धमा बुबा मार्ने छोराको पनि अनुसन्धानमा प्रहरी सफल भयो । ललितपुर घर भई भक्तपुरमा अपहरण, शरिर बन्धक तथा फिरौती पछि हत्या गरी दोलालघाट नजिकै शव फालेको घटनामा संलग्न अभियुक्तहरुको पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । चालु वर्षमा प्रहरीले जघन्य अपराधका ४ वटा घटनामा नै अभियुक्तहरु पक्राउ गरी अनुसन्धानमा सफलता प्राप्त गरेको छ । तर अघिल्ला वर्षहरुका प्रमुख चार जघन्य अपराधमा प्रहरी अभियुक्त छेउसम्म पनि पुग्न सकेको छैन ।

महाभारतमा २०८१ जेष्ठ ७ गते हत्या गरिएका दम्पतीको हत्यामा संलग्नलाई पक्राउ गरेको थियो । अधिकांश हत्या सम्पति र पैसाका लागि भएको अनुसन्धानले देखाएको छ । आर्थिक वर्ष २०८०÷२०८१ मा कर्तब्य ज्यान सम्वन्धी १४ वटा घटना भए । जसमध्ये ८ वटा घटनामा संलग्नहरुलाई कैद सजायँ सुनाईएको छ भने ६ वटा घटनामा संलग्नहरु पुर्पक्षका लागि कारागारमा छन् । ज्यान मार्ने उद्योगमा १७ वटा घटना भए । जसमध्ये ९ वटा घटनाको मुद्दा टुगिंएको छ भने ८ वटा बाँकी छ । आत्महत्या दुरुत्साहनमा ४ वटा घटना दर्ता भएकोमा १ वटा फैसला भएको छ । ज्यान सम्वन्धी ३५ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् । चालु वर्षको चार महिनाको यो अवधीमा ४ जनाको हत्या गरिएको छ । झुण्डि र विष सेवनबाट भने २९ जनाको मृत्यु भएको छ । सबै घटना पैसा र सम्पतिका लागि भएको तथ्य र अनुसन्धानले देखाएको छ ।