अनेरास्ववियु काभ्रेको ३१ औं अधिवेशन बनेपामा जारी, नयाँ नेतृत्वबारे छलफल

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन काभ्रेपलाञ्चोकको ३१ औं जिल्ला अधिवेशन बनेपामा जारी छ । अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री बास्कोटाले अनेरास्ववियु सिकाईको विश्वविद्यालयको रुपमा रहेको बताए ।
अनेरास्ववियुले विद्यार्थीको हक, अधिकारको रक्षा गर्नुका साथै अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले अनेरास्ववियुले चेतना, ज्ञान र निर्माणको झण्डा बोकेको बताए । विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राख्न जरुरी रहेको बताएका छन् । यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले अनेरास्ववियुले व्यवहारिक शिक्षा, सिर्जनात्मकता र नविनताको आन्दोलनको नेतृत्व गरिरहेको बताए ।
नेपालमै पहिलोपटक आइडिया बैंक सञ्चालन, हरेक अधिकवेशनमा रचनात्मक कार्य अनिवार्य, एसईई सम्मान, लगायतका नविनतम कार्यको थालनी अनेरास्ववियुले गरेको उनले बताए ।
अहिले अधिवेशनको बन्द सत्र चलिरहेको छ । ३१ औं अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्दैछ । यसैबिच अधिवेशनको अवसर पारेर अनेरास्ववियु काभ्रेले जिल्लास्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ ।
नृत्य प्रतियोगितामा बेलर इन्टरनेश्नल एकेडेमी बनेपा प्रथम, क्षितिज अंग्रेजी स्कुल दोस्रो र एबिएम स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।