‘सम्पदा, संस्कृति र सभ्यता जोगाउन सरसफाई महत्वपूर्ण’–मन्त्री पाण्डे
पनौती÷काभ्रेली सक्रिय महिला संगठनले शुरु गरेको पनौती त्रिवेणी सरसफाई नागरिक अभियानले ३ सय हप्ता पुरा गरेको छ । क्लिन पनौती, ग्रिन पनौती भन्ने अभियानका साथ शुरु भएको उक्त अभियानले ३ सय हप्ता पुरा गरेको अवसर पारी पनौतीमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त अभियानलाई हौसला दिर्दै संस्कृति र सम्पदाको सरसफाई सहितको संरक्षण गर्न सकिँदा मात्रै इतिहासको संरक्षण हुने बताए । ‘फोहोर फालिरहने, सफा गरिरहने अभियानको उदेश्य होईन’–मन्त्री पाण्डेले भने–‘फोहोर हुनै नदिने र फोहोर गर्दा आफै ब्यवस्थापनमा सक्रिय हुने गरी चेतना फैलाउनु अभियानको मुख्य कार्य हो ।’ फोहोर गर्नै हुँदैन यदि फोहोर निस्किए आफै ब्यवस्थापन गर्नु पर्छ भन्ने सन्देश फैलाउन अभियान सफल भएकोमा मन्त्री पाण्डेले काभ्रेली सक्रिय महिला संगठनलाई धन्यवाद दिएका छन् ।
सभ्यता, संस्कृति र सम्पदा बचाउन नियमित सरसफाई आवश्यक रहेको बताउँदै मन्त्री पाण्डेले यो कुनै एउटा अभियान, संगठन र एक तहको सरकारले गरिरहँदा मात्रै सम्भव नभएकाले सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए ।
पनौती ऐतिहासिक र धार्मिक क्षेत्र भएकाले यसको प्रचार प्रसार, संरक्षण तथा पुरातात्विक क्षेत्रका रुपमा विकास गर्न सरकारले सक्रियताका साथ समन्वय गर्ने मन्त्री पाण्डेले बताए ।
कार्यक्रममा अभियानकी मुख्य संयोजक सुमित्रा आचार्य बन्जाराले नियमित अभियानलाई सक्रियताका साथ अघि बढाउने बताईन् । उप संयोजक हिरामाया मानन्धरले अभियानलाई निरन्तर संचालन सहयोग गर्न सहयोग गरेकोमा धन्यवाद दिएकी थिईन् । हरेक हप्ताको शनिबार विहान त्रिवेणीधाम आसपास ६०–७० जना महिलाहरुको समुह खोला सरसफाईमा सक्रिय हुँदै आएका छन् ।
अभियानले आयोजना गरेको विशेष कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सक्रियता रहेको थियो । सोहि क्रममा इस्कन पनौतीका प्रतिनिधिहरुको विशेष सहभागिता रहेको थियो ।