पालेको सामुदायिक वन उपभोक्ता समुहको १३ औं वार्षिक साधारणसभा सम्पन्न

बनेपा नगरपालिका वडा नम्बर ५ मा रहेको पालेको सामुदायिक वन उपभोक्ता समुहको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष सुनिल बस्नेतको सभापतित्वमा भएको साधारण सभामा बनेपा नगरपालिका वडा नम्ब ५ का वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अधिकारीले वन जोगाउँदै पर्यापर्यटन विकासमा जोड दिनुपर्ने बताए । वन क्षेत्र जोगाउँदै अधिकतम लाभ लिने विषयमा स्थानीय सरकारले पनि योजना बनाइरहेको उनको भनाई थियो । बनेपा–५ को विकास निर्माणमा सामुदायिक वनले सहकार्य गरेको भन्दै उनले प्रशंसा गरेका छन् ।

सभामा हालसम्मको प्रगती प्रतिवेदन पेश गरिएको थियो भने आगामी १० वर्षको कार्ययोजना समेत पारित भएको छ । सामुदायिक वन उपभोक्ता महासंघका प्राविधिक अनिल श्रेष्ठले वनको गतिविधि जानकारी गराएका थिए ।

पिपलथुम्कीमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुहका १ सय ३५ जनाको उपस्थिती थियो । कार्यक्रम समुहका सचिव सविन थापाले सञ्चालन गरेका थिए ।