गुण्डागर्दीमा संलग्न तरुण दल काभ्रेका अध्यक्ष सहित ६ जना पक्राउ
कुटपिट तथा गण्डागर्दीमा संलग्न नेपाल तरुण दल काभ्रेका जिल्ला अध्यक्ष सुजन तामाङ सहित ६ जना पक्राउ परेका छन् । उनीहरुले आज ३ः४५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर १ महेन्द्र शालिक नजिकै रहेको लिक्वीड लञ्ज वारमा बैतडीका रमेश भट्टलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिट तथा गुण्डागर्दीमा रोशी गाउँपालिका ४ का कुलध्वज लामा, भुम्लु गाउँपालिका–४ का सुजन लामा, तेमाल–७ का मिलन लामा, भुम्लु–५ का सुलभ पहरी, तेमाल–५ का युवराज लामा र सिन्धुपाल्चोक जुगल गाउँपालिकाका दावा तामाङ संलग्न रहेका छन् । सुजन तरुण दल काभ्रेका अध्यक्ष हुन् । यस्तै रोशीका कौधोज लामा तरुण दलको केन्द्रिय सदस्य हुन् भने मिलन लामा पब्लिक युथ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति हुन् । सुलभ पहरी भुम्लु गाउँपालिकाका कार्यपालिका सदस्य हुन् भने युवराज लामा तरुण दल काभ्रेका जिल्ला सदस्य हुन् । यस्तै सिन्धुपाल्चोकका दावा तामाङ जुगल गाउँपालिकाका तरुण दल सभापतिको जिम्मेवारीमा छन् ।