शिक्षक र विद्यार्थी पढाउँदै ‘प्रहरी’
मंगलटार/विद्यालय तहमा हुने तथा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकबाट समाजमा सचेत गराउन सक्ने विषयमा प्रहरीले शिक्षक र विद्यार्थी दुबैलाई पढाउन थालेको छ । इलाका प्रहरी कार्यालय मंगलटारले बालबालिका तथा शिक्षकहरुको मेमोरी पावर बढाउन तथा मेमोरी पावरसँगै अपराध न्यूनीकरणमा खेल्न सक्ने भूमिकाका बारेमा सचेतनामुलक कक्षा संचालन गरेको छ ।
ईलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिकाको संयुक्त आयोजनामा तिन वटै पालिकाका ३५ वटा माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरु तथा सोहि विद्यालयमा अध्यापनरत शिक्षकहरु समेत गरी ३ सय जनालाई सुरक्षा, क्षमता र ध्यान लगायतका विषयमा जनक बहुमखि क्याम्पसको सभाहलमा एक दिवशीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा मेमोरी पावरमा विश्व रेकर्ड राख्न सफल व्यक्तित्व, विषय विज्ञ अर्पण शर्माद्वारा मेमोरी तथा ध्यान लगायतका विषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मंगलटारका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले भविष्यका कर्णधार विद्यार्थीएवं समाजका ऐनाका रुपमा रहने शिक्षक वर्गले समाजमा हुने आपराधिक घटनाको न्यूनिकरणमा उल्लेख्य भूमिका रहने बताए ।
प्रहरी निरिक्षक गिरीले समग्र सुरक्षा सम्बन्धि विषयमा प्रशिक्षण दिएका थिए । नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्यहरु अन्तरगत विद्यालय लक्षित सामाजिक सचेतनाको माध्यमबाट समेत अपराध न्यूनिकरण गर्दै सभ्य, सुरक्षित समाज निर्माण गर्ने अभिप्रायले ईलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा स्थानीय तहहरुको आयोजनामा कार्यक्रम संचालन गरिएको थियो ।
प्रधानाध्यापकहरुसँग अन्तरक्रिया
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्राकृतिक विपत्ति पश्चात देखिएका सामाजिक अपराधहरु लगायत आपराधिक क्रियाकलाप न्यूनिकरण, विद्यालयसँग प्रहरी कार्यक्रम समेतका विषयहरुमा नमोवुद्द नगरपालिका अन्तरगत रहेका विभिन्न विद्यालयहरुका प्रधानाध्यापकहरुसँग ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले अन्तरक्रिया तथा छलफल गरेका छन् ।
रोशी विपत्ति पछि धेरै क्षति भएको पालिका हो । विपी राजमार्ग अवरुद्ध हुँदा ३ हजार भन्दा धेरै सवारी साधन अलपत्र परेका थिए ।