विपत्तिको कहरमा काभ्रेपलाञ्चोक: २५७७ पूर्ण क्षति, ७५१ आंशिक र ६८ घर स्थानान्तरणमा

मोतीराम तिमल्सिना
धुलिखेल
२०८१ असोज १०–१२ सम्म परेको भिषण वर्षातका कारण आएको बाढी तथा पहिरोले काभ्रेपलान्चोक जिल्लाका निजि आवास २५ सय ७७ पूर्ण क्षति भएका छन् । ७ सय ५१ वटा आंशिक क्षति भएको सहरी विकास तथा भवन कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ । ६८ घर परिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् । 
सरकारी भवन १२ वटा पूर्ण रुपमा क्षति भएका छन् भने १ सय ३५ वटा आंशिक रुपमा क्षति भएका छन् । सार्वजनिक भवन ८ वटा पूर्ण रुपमा क्षति भए भने १ सय ३४ वटा आशिक क्षति भएका छन् । बेथान्चोक गाउँपालिकामा ६ सय २९, नमोबुद्ध नगरपालिकामा ४ सय ८९ र रोशी गाउँपालिकामा ३ सय ५० घर र तेमालमा ४ सय ३९ घर पूर्ण रुपमा क्षति भएका छन् । चौरीदेउराली गाउँपालिकामा १ सय ३४, भुम्लु गाउँपालिकामा १ सय २२ वटा घर क्षति भएका छन् । धुलिखेलमा ८०, पाँचखालमा ७६, खानीखोलामा ४५, महाभारतमा २३, बनेपामा ४७, पनौतीमा ५९ र मण्डनदेउपुर नगरपालिकामा ८४ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । 
जिल्लामा रहेका १३ स्थानीय तह मध्ये रोशी, पनौती, बेथानचोक, तेमाल, मन्डन्देउपुर लगायतका स्थानीय तह बढी प्रभावित पालिकामा पर्दछ्रन । मानविय क्षति मृत्यु ७९ जना र घाइते ७८ जना भएका छन् । अझै ६ जना बेपत्ता भएका छन् । आवासको जिम्मेवारी सहरी विकास तथा भवन कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, बागमती प्रदेश सरकारलाई परेको छ्र ।  उक्त क्लस्टरले स्थानिय तह र दाताहरुसँग समन्वय गरी सेल्टर किट, त्रिपाल, टेन्ट तथा लगायतका सामाग्री वितरण गरेको छ । विभिन्न गाउँपालिका र नगरपालिकाबाट प्राप्त क्षति अनुरुप पुनःनिर्माण तथा पुनस्र्थापनाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौंडामा लागत अनुमान सहितको विवरण पठाईएको छ । 

काभ्रेमा विपद व्यवस्थापनमा भावी रुपरेखाका बारेमा कार्यालयले खाका तयार गरेको छ । हिउँद (चिसोयाम) भित्रिए संगै सुरक्षित आवासको खाँचो छ्र । तथ्याङ्क अनुसार अन्दाजी २ हजार ५ सय घर निजि आवास पुनर्निर्माण गर्नुपर्ने देखिएको छ्र । त्यस्तै, २० वटाको हाराहारीमा सरकारी तथा सार्वजनिक भवनहरु पुनर्निर्माण गर्नु पर्ने देखिएको छ्र । केहि ठाउँमा बस्ती नै तहस नहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने छ्र । संघ र प्रदेश सरकारबाट आवश्यक कार्यक्रम, योजना र बजेटको व्यवस्था हुनु पर्ने, जिल्लामा छुट्टै विपद व्यवस्थापन कार्यालय र पुनःनिर्माण कार्यालय स्थापना गरि कार्य अगाडि बढाउन पर्ने, तिनै तहका सरकार बिच आवश्यक सहकार्य र समन्वयमा पुनःनिर्माण कार्य अगाडि बढाउनु पर्ने सुझाव प्रस्तुत गरेको कार्यालय प्रमुख भुमिनन्द ढकालले जानकारी दिए ।

जिल्लामा ६८ घर परिवार स्थानान्तरण गर्नु पर्ने छन् । खानिखोलामा ५, मण्डनदेउपुरमा १३, चौरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथान्चोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन दिएका छन् ।