वीरगञ्ज भन्सारबाट चारपाङ्ग्रे सवारीसाधनको आयात घट्यो

पर्सा / वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने ४८२  जीप, कार र भ्यान आयात भएका छन्।

गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको आधारमा ३८.१३ प्रतिशत र राजस्वको आधारमा १६.४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो। गत आवको सोही अवधिमा एक अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने ७७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले दुई अर्ब ८० करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। 

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्गे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ। चालु आवको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७  विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९.०७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८.६३ प्रतिशतले गिरावट आएको छ। गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने २३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।