२३ वर्षयता अमेरिकी जनसंख्यामा सबैभन्दा ठूलो वृद्धि

काठमाडौं/ सन् २०२४ को अन्त्यमा संयुक्त राज्य अमेरिकाको जनसंख्या ३४ करोड भन्दा माथि पुगेको छ । यो वर्ष विगत २३ वर्षकै उच्च जनसंख्या वृद्धिदर हुने वर्ष बनेको त्यहाँको जनगणना विभागले जनाएको छ ।

जनसंख्या वृद्धिको मुख्य कारण आप्रवासन हो । यस वर्ष अमेरिकाको जनसंख्या वृद्धिदर जम्मा १ प्रतिशत छ । उक्त वृद्धिदरमा ८४ प्रतिशत योगदान आप्रवासीले दिएका छन् । अर्थात् अमेरिकाको जनसंख्यामा १०० वृद्धि हुँदा तीमध्ये ८४ जना आप्रवासी हुन्छन् भने जम्मा १६ जना जन्म र मृत्युको फरकको आधारमा तय हुन्छ ।

कोभिड महामारीको समयमा अमेरिकाको जनसंख्या वृद्धिदर जम्मा शून्य दशमलव २ प्रतिशत थियो ।
यस वर्ष अमेरिकामा लगभग २८ लाख आप्रवासी थपिएका छन् । नयाँ गणनाविधिका अनुसार यसमा विविध मानवीय कारणबाट थपिएका आप्रवासी पनि सामेल छन् ।

यस वर्षको कुल जनसंख्या वृद्धिमा अन्तर्राष्ट्रिय आप्रवासीको योगदान ८४ प्रतिशत छ । सन् २०२३ र २०२४ बीच अमेरिकामा ३३ लाख जनसंख्या वृद्धि भएको थियो ।

सन् २०२३ र २०२४ बीच जन्म र मृत्युको बीचको अन्तर लगभग ५ लाख १९ हजार छ । सन् २०२१ मा कोभिड महामारीको समयमा यो संख्या जम्मा १ लाख ४६ हजार थियो । 

आप्रवासीका कारण खासगरी १६ राज्यहरूमा मात्रै जनसंख्या वृद्धि भएको छ । ती राज्यमा मानिसको पलायन र मृत्युका कारण जनसंख्या घट्दो दरमा थियो । 

ब्रूकिन्स इन्स्टिच्युटका जनसांख्यिक विज्ञ विलियम फ्रेको भनाइ छ, ‘आप्रवासनको प्रभावले ती राज्यहरूमा जनसंख्या वृद्धि गर्न ठूलो योगदान पुर्‍याएको छ । अन्यथा ती राज्यमा जनसंख्याको तीव्र गिरावट हुने थियो ।’

२०२४ मा सबैभन्दा सबैभन्दा धेरै जनसंख्या वृद्धि अमेरिकाको दक्षिणी क्षेत्रमा देखिएको छ । ती राज्यमा १८ लाख थपिएका छन् । टेक्सस र फ्लोरिडा राज्यमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ ।

यो वर्ष क्यालिफोर्निया र न्यूयोर्क जस्ता तटीय शहरी राज्यमा पनि आप्रवासनका कारण जनसंख्या वृद्धि भएको अमेरिकी जनगणना विभागले जनाएको छ । ​

यसबाहेक, ‘सनबेल्ट’ क्षेत्रको ठूलो विस्तारको कारण अमेरिकाको जनसंख्या केन्द्र दक्षिणतर्फ सर्न थालेको छ, जुन यस दशकको मध्यतिर आएको ठूलो परिवर्तन हो ।

यद्यपि, अमेरिकामा बच्चाको संख्या भने निरन्तर घटेको छ । सन् २०२३ मा ७ करोड ३३ लाख बच्चाबच्ची भएकोमा एक वर्षमै त्यो संख्या घटेर ७ करोड ३१ लाखमा झरेको छ । यसले अमेरिकाको बच्चाबच्चीको संख्यामा निरन्तर ओरालो लागिरहेको तथ्यलाई संकेत गर्छ ।

अमेरिकाले सन् २०२१ पछि ५८ लाख भन्दा बढी मानिसलाई आप्रवासीका रूपमा स्वागत गरेको छ । अमेरिकामा नेपाली आप्रवासीहरूको संख्या हाल २ लाख १९ हजार ५०३ रहेको छ । सन् २०२३ को ओपन डोर्स प्रतिवेदनले अमेरिकामा १६ हजार ७४२ नेपाली विद्यार्थीहरू अध्ययन गरिरहेको जनाएको छ भने यो अमेरिकामा अध्ययन गर्ने कूल विदेशी विद्यार्थीको १ दशमलव ५ प्रतिशत हो । 

ओपन डोर्सका अनुसार टेक्ससमा २८ हजार ६८३, न्यूयोर्कमा २३ हजार ७७७, ओहायोमा २१ हजार ५६७ र क्यालिफोर्नियामा १९ हजार ६७७ नेपालीहरू बसोबास गरिरहेका छन् ।